logo

२०८१ माघ १० बिहिबार

logo
  • बिहिबार, १० माघ २०८१
  • सूर्यविनायक–धुलिखेल सडक : दैनिक ५ घण्टा बन्द गर्ने प्रस्ताव भक्तपुर काभ्रेका नगरप्रमुखद्वारा अस्वीकार

    सूर्यविनायक–धुलिखेल सडक : दैनिक ५ घण्टा बन्द गर्ने प्रस्ताव भक्तपुर काभ्रेका नगरप्रमुखद्वारा अस्वीकार

    1.5K
    Shares

    भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ ।  विसं २०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको थियो ।

    भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुले आयोजनासँग माग गरेका छन् । आयोजनाले भक्तपुर काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुसँग सडक निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्न प्रस्ताव राखेपछि नगरप्रमुखहरुले यो प्रस्तावलाई भने अस्वीकार गरेका छन् ।

    राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने नगरप्रमुखहरुको भनाइ छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने बताए । निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने भन्दै उनले सडक निर्माणका क्रममा वैकल्पिक सडकबारे स्थलगत अध्ययन गर्नुपर्ने र राजमार्ग वरपरका टहरा विना क्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्नुपर्ने बताए ।

    आयोजनासँग भएको छलफलमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आयोजनाको काम सुस्त गतिमा भइरहेकामा असन्तुष्टि व्यक्त गर्दै सूर्यविनायक–धुलिखेल राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्ने बताए । जनतालाई समस्या नपर्नेगरी स्थलगत अवालोकन गरेर मात्र आंशिक रुपमा बाटो बन्द गर्नुपर्ने उनको भनाइ थियो ।

    धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले सडक निर्माणको काम गर्ने निर्माण व्यवसायीले जनतालाई समस्या नपर्नेगरी गर्नुपर्ने बताए । उनले सडक मर्मत र वैकल्पिक बाटोको समेत आवश्यक व्यवस्था पनि निर्माण व्यवसायी वा सडक विभागले नै गर्नुपर्नेमा जोड दिए ।

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रात्रिकालीन समयमा सडक निर्माणको काम गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए । सूर्यविनायक धुलिखेल सडक ७.५ किमीको विस्तारका लागि कुल तीन अर्ब ८८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend