काठमाडाैं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई तीन वर्षसम्म पनि सच्याउन नसक्नु आफूहरुको कमजोरी भएको बताएका हुन् । दाहालले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना गरेका हुन् ।
‘ओलीलाई दोषी देखाएर हामी चोखो हुन मिल्दैन। तीन वर्षसम्म पनि ओलीलाई सच्याउन नसक्नु हाम्रो कमजोरी हो । अब म तपाईंहरु समक्ष प्रतिवद्धता व्यक्त गर्छ यस्ता प्रवृत्तिप्रति उदार हुने गल्ती हामी गर्ने छैनौँ,’ प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको भेलामा प्रचण्डले भने ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र लोकतन्त्रलाई विघटन गर्न खोजेको पनि उनले बताए । ‘प्रधानमन्त्रीले संविधान र लोकतन्त्रलाई विघटन गर्न खोजे । संविधान र लोकतन्त्र जनतको बलले आएको हो। हामी जनतासँग फेरी पनि गुहार माग्न आएका छौँ । नेपाली जनताको प्रतिक्रान्ति विरोधी भावना घटेकेो छैन भन्ने प्रमाण आजको उपस्थितिले दिएको छ’ उनले भने ।