काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले छिटै अर्को चरणको आन्दोलन घोषणा गरिने बताएका छन् ।
प्रचण्ड-नेपाल समूहद्वारा शुक्रबार राजधानीमा आयोजित बिरोध प्रदर्शन तथा सभा बिशाल जनसहभागितासहित भव्यरुपमा सफल भएको जिकिर गर्दै अर्को चरणको आन्दोलन घोषणा गरिने श्रेष्ठले बताएका हुन् ।
केन्द्रीय संघर्ष समितिकाले जारी गरेको निर्देशिका अकस्मात परिवर्तन गरिएको प्रति भने नेता श्रेष्ठले ध्यानाकर्षण गराएका छन् । केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका नेता श्रेष्ठले विधि, पद्धतिको उपेक्षा र अवज्ञा हुन नदिनको लागि संस्थागत कार्य प्रणालीको बारेमा ध्यान दिनुपर्ने बताएका छन् ।
शुक्रबार भएको विरोध प्रदर्शनमा जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्व निर्धारित योजना संघर्ष समितिको जानाकारी बिना नै अकस्मात परिवर्तन गरिएको उनले बताएका छन् । सोही कारण मञ्चमा केही विवाद भएको जानकारी दिँदै उनले भनेका छन्– ‘केपी ओलीजी सँगको शुरुदेखिको हाम्रो एउटा मुख्य मतभेद विधि र पध्दतिको पालनामा हो ।अब हामीले पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पध्दतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनु पर्दछ।’