logo

२०८१ माघ १४ सोमबार

logo
  • सोमबार, १४ माघ २०८१
  • रेमिट हाइड्रोको घुन्सा खोला आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाई १२ अर्ब ७० करोड ऋण

    रेमिट हाइड्रोको घुन्सा खोला आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाई १२ अर्ब ७० करोड ऋण

    917
    Shares
    रेमिट हाइड्रोको घुन्सा खोला आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाई १२ अर्ब ७० करोड ऋण

    काठमाडौं । रेमिट हाइड्रो लिमिटेडले बनाउन लागेको ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ । लक्ष्मी सनराइज बैंकको अगुवाइमा १२ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।

    घुन्सा खोला आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित १८ अर्ब १३ करोड रुपैयाँ लाग्ने रेमिट हाइड्रोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नगेन्द्रनाथ ज्ञवालीले बताए । सिइओ ज्ञवालीका अनुसार ५ अर्ब ४४ करोड स्वपुँजी (इक्विटी) लगानी हुनेछ ।

    लक्ष्मी सनराज र रेमिट हाइड्रोबीच आइतबार ऋण लगानी सम्झौता हुँदैछ । अनुमान गरिएकै लागतमा आयोजना बने पनि प्रतिमेगावाट लगानी २३ करोड ४० लाख रुपैयाँ हुने देखिएको छ ।

    जनताको जलविद्युतअन्र्तगत निर्माण हुन लागेको आयोजनामा सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरणको २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) १५ र विद्युत उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरि कूल ५१ प्रतिशत स्वामित्व रहेको छ । आयोजना एचआइडिसिएलले अघि बढाएको हो ।

    पछि एचाआइडिसिएलले विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीलाई साझेदार बनाएको छ । आयोजना बनाउन विद्युत विकास विभागले रेमिटलाई २०७९ साउन १८ गते विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको थियो । रेमिट हाइड्रो २०७१ मंसिर २८ गते स्थापना भएको हो ।

    आयोजना ताप्लेजुङ जिल्लाको घुन्सा खोलामा रहेको छ । आयोजनाको ग्रस हेड ४ सय ३२ मिटर रहेको छ । मुख्य सुरुङको लम्बाइ ४.२० किलोमिटर रहेको रेमिटले जनाएको छ । आयोजना सन् २०१४ मा पत्ता लागेको हो ।

    आयोजनाको बाँध स्थल, इन्टेक, थियाउने पोखरी र पहुँच सडक फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बाँध क्षेत्रबाट करिब ४ हजार ३ सय मिटर हेडरेस सुरुङमार्फत पानीलाई फक्ताङलुङ गाउँपालिकाकै वडा नम्बर ६ मा निर्माण हुने भुमिगत विद्युतगृहमा खसालिने छ।

    विद्युतगृहमा ३ वटा टर्वाइन जडान हुनेछन् । टर्वाइनमा जडान भएको ३ वटा जेनेरेटर गुमाएर विद्युत उत्पादन हुने गरी प्रस्ताव गरिएको कम्पनीले जनाएको छ। हेडरेस सुरुङ, सर्ज ट्याङक, पेनस्टक पाइप र टेलरेस सुरुङ पनि त्यही गाउँपालिकाको वडा नम्बर ६ मा रहनेछ।

    आयोजना पूरा भएपछि वार्षिक सरदर ४५ करोड ८५ लाख ८ हजार युनिट विद्युत उत्पादन हुनेछ। आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सबस्टेसनमा जोडिनेछ ।

    यसअघि एनएमबी बैंक र रेमिट हाइड्रोबीच जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धमा सहकार्य भएको थियो । तर, कम्पनीले एनएमबीबाट नभइ अहिले लक्ष्मी सनराइज बैंकबाट ऋण लिन लागेको छ ।

    घुन्सा खोला जलविद्युत आयोजनाको सेयर लगानीमा कम्पनीको प्रतिबद्धता अनुरुप वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूलाई सहभागी गराउने समझदारी भएको थियो । निर्माणको चरणमा जान लागेका यी दुई आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूको लागि छुट्याउने समझदारीमा उल्लेख छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend