काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध आज दिउँसो सिटी जुलुस गर्दैछ । तेस्रो चरणको आन्दोलन अन्तर्गत विभिन्न कार्यक्रम घोषणा गरेको दाहाल-नेपाल समूहले आज दिउँसो तीन बजेदेखि लैनचौरबाट सिटी जुलुस गर्दैछ । जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ ।
संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल-नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने युवा संगठनका संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।
सोमबार पत्रकार सम्मेलनमार्फत माघ १३ देखि माघ २८ गतेसम्मको १५ दिने विरोधको कार्यक्रम घोषणा गरिएको हो । विरोध कार्यक्रममा सिठ्ठी जुलुसदेखि धर्ना, र्याली, विरोध प्रदर्शन र सभा रहेका छन् । माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन गरिने जनाइएको छ ।