काठमाडौं । काेराेना भाइरसविरूद्धकाे अमेरिकी खोप, मोडर्नाले बेलायत र दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ रुपविरुद्ध काम गर्ने कम्पनीका वैज्ञानिकहरुले जानकारी दिएका छन् । ल्याब परीक्षणको प्रारम्भिक नतिजाले खोपबाट उत्पन्न एन्टिबडिजले नयाँ भाइरससँग पनि उत्तिकै प्रभावकारी तरिकाले लड्न सक्ने देखाएको बीबीसीले उल्लेख गरेकाे छ ।
नयाँ रुपान्तरित कोरोना भाइरस यतिखेर थुप्रै देशमा तीव्र गतिमा फैलिरहेको छ । प्राकृतिक रुपमा विकसित भएको नयाँ किसिमको कोरोना भाइरसले सुरुआतमा भन्दा छिटो र सजिलै मान्छेको सेललाई संक्रमित गराउन सक्छ । विज्ञहरुका अनुसार सेप्टेम्बरमा बेलायतबाट उत्पत्ति भएको सो भाइरस तुलनात्मक रुपमा ७० प्रतिशतभन्दा बढी संक्रामक रहेको छ ।
अहिले बजारमा प्रभावकारी भनेर आइरहेका प्रायः खोपहरु सुरुवाती भाइरसको विशेषता अध्ययन गरि निर्माण भएकाले विकसित कोरोना भाइरसविरुद्ध काम गर्ने–नगर्नेमा चिन्ता बढेको थियो । वैज्ञानिकहरुले खोपको प्रभावकारितामा यसले फरक नपार्ने विश्वास व्यक्त गरे पनि अहिले प्रयोगमा ल्याइएका खोपका कम्पनीहरु यसबारे अनुसन्धान गरिरहेका छन् ।
यसअघि फाइजरको खोपले पनि नयाँ रुपान्तरित भाइरसविरुद्ध काम गर्छ भन्ने नतिजा देखाएको थियो । मोडेर्नासम्बन्धी रिसर्चका लागि यस खोपको दुई डोज लगाइसकेका आठजनाको रगतको स्याम्पल लिइएको हो ।
यसमा नयाँ भाइरस मार्न मोडर्नाले पर्याप्त एन्टिबडिज उत्पादन गर्न सक्ने पत्ता लागेको हो ।