काठमाडौं । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले अब प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी नभएको जिकिर गरेका छन् ।
मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेकोले प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेकाले बताए । नेपाल प्रेस सङ्गठन रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले आन्दोलन छोडेर निर्वाचनको तयारीमा लाग्न प्रचण्ड समूहलाई आग्रह गरे ।
सरकार निर्वाचनका लागि स्रोत व्यवस्थापनमा लागेको बताउँदै मन्त्री पौडेलले अन्य दलहरु पनि निर्वाचन केन्द्रित भइसकेको उल्लेख गरे । निर्वाचनसँग सम्बन्धित काम गर्नका लागि अदालतले नरोकेको स्पष्ट पार्दै उनले निर्वाचनको तयारी र अदालतको फैसलालाई तुलना गर्नु नपर्ने धारणा राखे ।
प्रतिनिधसभाबाट जनताका अपेक्षा पूरा नहुने भएपछि ताजा जनादेशमा गएको बताउँदै मन्त्री पौडेलले भने ‘निर्वाचन लोकतन्त्रको प्राण हो । प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जान सक्ने प्रष्ट व्यवस्था संविधानमा छ ।’
सरकार आवश्यकताअनुसार सबै नागरिकलाई कोरोनाविरुद्धको खोप प्रदान गर्ने तयारीमा लागेको मन्त्री पौडेलको भनाइ छ ।