काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनापछि प्रचण्ड, माधव नेपालसहितका नेताहरू नागरिक समाजमा रूपान्तरण हुने बताएका छन् । प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी दुवै नरहेको उनको भनाइ थियाे ।
बिहीबार जिफन्टकाे कार्यक्रममा बोल्दै उनले प्रचण्डले चुनाव जित्न कठिन रहेको बताए । उनले भने ‘हेर दशा लागेको, अब उहाँहरूले चुनाव जित्नुहुन्छ ? २०७४ मा हामीले चुनाव जिताएका थियौँ, चितवनबाट । त्योभन्दा अगाडि बत्ती निभाएर बाकस साटेर चुनाव जिताइएको थियो ।’
उनले प्रचण्डको प्रवृत्ति ‘फ्लोटिङ’ हुने रहेको पनि औँल्याए । ‘कहिले रोल्पाबाट, कहिले कताबाट, कहिले चितवनबाट चुनाव लड्नहुन्छ ! अब कताबाट हो ?’ उनको प्रश्न थियो ।
उनले प्रचण्डलाई समाजवाद आइसकेको पनि कटाक्ष गरे । प्रचण्डलाई मात्रै नभएर उनका घरधनीलाई समेत समाजवाद आइसकेको टिप्पणी पनि गरे ।
जनयुद्धको बेला प्रचण्ड जेलवाला तेल लाएर जुल्फी कोरेर दिल्ली बसेको पनि उनले टिप्पणी गरे । ओलीले भने, ‘जंगलमा न हिजो बस्नु भएको थियो न अब बस्नु हुन्छ । हिजो जंगल बस्नु भएको हैन उहाँ । दिल्ली, लखनऊमा हुनुहुन्थ्यो हामीलाई थाहा छ । जंगलमा उहाँले कार्यकर्ता र लडाकु बसाउनु भयो । आफूहरू त जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो ।’
ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको पनि बताए । ०७२ सालमा आफ्नो नेतृत्वमा बनेको सरकार माधव नेपालसहितका नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकासेर ढालेको उनकाे आराेप थियाे ।