काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामु वैशाखमा चुनाव हुने पक्का भएको बताएका छन् । थपलियाले देउवा निवास बुढानिलकण्ठ पुगेर यदि वैशाखमा चुनाव गराउन नसके राजीनामा दिनेसमेत बताएको स्रोतले जनाएको छ ।
संसद पुनर्स्थापनाको कुरा लिएर देउवा निवास पुगेका नेताहरुलाई देउवाले उल्टै चुनाव हुने भन्दै हकार्न थालेका छन् । देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ‘प्रधानमन्त्री ओलीले वैशाख चुनावमा जसरी पनि गराउँछन् । उनले प्रमुख निर्वाचन आयुक्त पठाएर नै चुनाव हुने जानकारी गराएका छन् । निर्वाचन आयुक्तले यदी वैशाखमा चुनाव गराउन नसके राजीनामा दिने पनि बताएका छन् ।’
देउवाले आफूसँग भेटका लागि आउने नेताहरुलाई निर्वाचनको तयारीमा लाग्न आग्रह पनि गर्न थालेकाे स्रोतले बताएको छ ।
संसद पुनर्स्थापनाको मागसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध प्रदर्शन गरिरहेको छ । यसअघि पनि देउवाले पटक–पटक सर्वोच्चको फैसला कुर्ने र जे निर्णय आउँछ त्यही अनुसार जाने बताउँदै आइरहेका छन् । कांग्रेसले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर केही चरणको आन्दोलनसमेत गरिसकेको छ ।
तर ओलीको कदम असंवैधानिक भन्ने कुरा देउवाको मनले भने मानेको छैन । उनले विरोध प्रदर्शनको बेलामा कार्यकर्ता भेला सम्बोधनका क्रममा पटक–पटक सर्वोच्चको फैसला पर्खिने र चुनावमा जाने फैसला आए चुनावमा जान तयार हुनुपर्ने बताउँदै आइरहेका छन् । नेपाली कांग्रेसकै नेता रामचन्द्र पौडेल, गगन थापालगायतका नेताहरु भने जसरी पनि संसद पुनर्स्थापना गर्नुपर्ने मागसहित विरोध प्रदर्शन गरिरहेका छन् ।