काठमाडौं । विहीबार सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैँ अदालतमा उपस्थित हुन आदेश दियो ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको हो । न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई रिट निवेदकको माग बमोजिम सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्याय प्रक्रियाको उपहास भएको भनी वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
गएको पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचन घोषणा गरिन् । प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भयो । संसद विघटनको मुद्धामा अहिले सर्वोच्चमा बहस भइरहेको छ । विभाजित नेकपाको ओली समूह चुनावको तयारीमा लागिरहँदा माधव–प्रचण्ड समूहले भने संसद पुनर्स्थापनाको माग गरेर सडक तताइरहेको छ । यी दुई समूहहरु एक अर्कालाई कमजोर देखाउन नांगिएर लागिरहेका छन् ।
बौद्धिक जगत् र आम सञ्चार माध्यमलाई संस्कारको पाठ पढाउने प्रधानमन्त्री केपी ओलीले आफूसँग असहमतको विषयमा टिप्पणी गर्दा भने प्रधानमन्त्रीको पदीय मर्यादा भुल्ने गरेका छन् । अहिले विभिन्न कार्यक्रममा राजनीतिक प्रतिस्पर्धीसँग मात्र होइन, पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरू, बुद्धिजीवी, लेखक तथा पत्रकारहरूलाई प्रधानमन्त्री ओलीले अवहेलना गरिरहेका छन् ।
आफ्नो पार्टीमा आवद्ध बुद्धिजीवीलाई हँसाउने काम गरे पनि फरक मत राख्ने बुद्धिजीवीप्रति भने ओली सधैँ अनुदार देखिन्छन् । उनी आफ्नो आलोचना सुन्न सक्दैनन् ।
गत माघ ९ गते प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्ता भेला सम्बोधनका क्रममा ९४ वर्षीय अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बहस गरेपछि अधिवक्ता भण्डारीलाई ‘बाजे वकिल’ र बहसलाई ‘तमासा’ भनी प्रधानमन्त्रीले टिप्पणी गरे ।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिष्ठित वरिष्ठ अधिवक्ताहरूले सर्वोच्चमा बहस गर्न थालेपछि ओली उनीहरुका विरुद्धमा पनि उत्रिएका छन् । विभिन्न कार्यक्रमहरुमा अधिवक्ताका विरुद्धमा पनि उनले भद्दा टिप्पणी गरिरहेका छन् । उनले अधिवक्ताहरूलाई ‘दुर्मुखा’ ट्याग लगाएका छन् । गएको २६ पुसमा राष्ट्रिय सभामा नेपालका केही कानुनविदमाथि दया लागेर आउने र केही दुर्मुखाहरू गणतन्त्रको सर्वोच्च संस्थाको मानमर्दनमा लागेको भनी टिप्पणी गरे ।
संविधान निर्माणपछि विगतका दिनहरुमा न्यायालय पूर्ण स्वतन्त्र हुने र स्वतन्त्रता प्राप्त गर्नेले आफ्नो मर्यादाको ख्याल नगर्दा जनताले विश्वास र भरोसा गर्न नसक्ने बताउने ओली अहिले आफ्ना विरोधमा अदालतमा भइरहेको बहसका बारेमा भने टिप्पणी गरि रहेका छन् ।
अदालतका विषयमा मात्र नभएर व्यक्तिगत रुपमा पनि प्रचण्ड र माधव नेपाललाई ओलीले विभिन्न समयमा ‘कुलंगार’, ‘भष्मासुर’, ‘भेट्नो कुहिएर झरेको फल’, ‘पिलो’ लगायतका ‘ट्याग’ लगाउने गरेका छन् । ओली आफ्ना आलोचकहरुमा एकपछि अर्को चर्को बोली गरिरहेका छन् । उनले अरुको कुरा सुन्नभन्दा पनि आफ्नो बचाउमा पटक–पटकको भाषणमा एकै खाले अभिव्यक्ति दिइरहेका छन् । सबै अभिव्यक्तिमा आफ्ना विरोधिलाई तल्लो स्तरमा गिरेर गाली–गलौज गरिरहेका छन् । उनी पक्षीय नेता र कार्यकर्ताले सामाजिक सञ्जालमा ओलीको बचाउ पनि गर्ने गरेका छन् । पद र कुर्सीको मर्यादा नराखी जे पनि बोल्न थालेका ओलीलाई अब नियन्त्रणको जरुरी देखिन्छ ।
विहीबार सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश जारी गरेपछि अब ओलीको बेलगाम बोली नियन्त्रण गर्न सक्छ कि सक्दैन त्यो हेर्न भने बाँकी नै छ ।