काठमाडाैं । यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भइ गर्मी बढ्ने पूर्वानुमान गरेका थिए ।
नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो । आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझ पख चिसो बढेको थियो । मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भइ दुई दिनपछि वर्षात हुने मौसमविद्को भनाइ छ ।
मौसमविद् सजिना शाक्यले आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताइन् । उनका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ ।
महाशाखाको विवरणअनुसार साेमबार काठमाडाैंका न्यूनतम २ दशमलव ५ र अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस २ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।