काठमाडाैं । विभागीय टोली एपिएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न एक मात्र खेलमा एपिएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो । एपिएफले जित निकाल्दा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक सहित ६ गोल गरिन् । यस्तै, कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।
पहिलो मिनेटमा नै गोलको खाता खोलेकी अनिताले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएकी थिइन् । ह्याट्रिकसहित ६ गोल गरेकी सावित्राले छैटौं, ३३ औं, ४७ औं, ६० औं, ६२ औं र ७९ औं मिनेटमा गोल गरेकी हुन् ।
यस सँगै एपिएफले जारी लिगमा अगातार आठौं जित निकालेको छ । एपिएफले ८ खेलबाट २४ अंक जोडेको छ । जितपछि एपिएफले उपाधि उचाल्ने सम्भावनालाई बलियो बनाएको छ ।
पराजित चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।
लिग अन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।