बुधबार, चैत्र ६ २०८१

बुधबार, चैत्र ६ २०८१

व्यापार घटेपछि शुभश्री सिमेन्ट नोक्सानमा, पोखरेल परिवारले पौने २ अर्बमा पाँचतारे होटल ल्याउँदै

व्यापार घटेपछि शुभश्री सिमेन्ट नोक्सानमा, पोखरेल परिवारले पौने २ अर्बमा पाँचतारे होटल ल्याउँदै

काठमाडौं । आर्थिक गतिविधि सुस्त गतिमा र पूर्वाधारमा सरकारी खर्चमा आएको कमीका कारण नेपालको निर्माण क्षेत्रले हाल चुनौतीहरूको सामना गरिरहेको छ । सुस्त गतिविधिले मुलुकभित्र सिमेन्ट उद्योगको भविष्य कठिन देखिएको छ ।

अर्थतन्त्र सुस्त हुँदा बजारमा माग घटेको छ । सरकारले निर्माण व्यवसायीलाई समयमा भुक्तानी नदिँदा निर्माण सामाग्रीको मागमा गिरावट आएको छ । यसको असर पोखरेल पारिवारले सञ्चालन गरिरहेको शुभश्री अग्नी सिमेन्ट उद्योग लिमिटेडको व्यापार ३७ प्रतिशत भारी गिरावट आएको छ ।

गत वर्ष उद्योगले १ अर्ब ५९ करोड ४० लाख रुपैयाँको मात्र सिमेन्ट व्यापार गरेको छ । अघिल्लो वर्ष २०२३ मा शुभश्रीको सिमेन्ट व्यापार २ अर्ब ५५ करोड १० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा उद्योगको सिमेन्ट व्यापार ९५ करोड रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

२०२२ मा २ अर्ब १६ करोड ५० लाख रुपैयाँ सिमेन्ट व्यापार भएको थियो । सिमेन्टको माग घटेपछि यसको असर व्यापारमा परेको उद्योगले जनाएको छ । उद्योगले सिमेन्ट बिक्रीबाट ८८ करोड २० लाख र ६५ करोड ८० लाख रुपैयाँ क्लिङकर बिक्रीबाट आम्दानी भएको जनाएको छ । गत वर्ष क्लिङकर बिक्री घटेर ५७ हजार ३ सय ७ टनमा झरेको छ । अघिल्लो वर्ष उद्योगले ८१ हजार ८ सय १८ टन क्लिङकर बिक्री गरेको थियो ।

यद्यपि पिपिसी सिमेन्टको बिक्री घटे पनि मूल्य बढेर बोराको ३ सय ९८ रुपैयाँ पुगेको छ । यसअघि प्रति बोरा ३ सय १७ रुपैयाँ थियो । यस्तै ओपिसी सिमेन्टको मूल्य ४ सय ९१ बाट बढेर ५ सय ८ रुपैयाँ पुगेको छ । व्यापार घटे पनि मूल्य बढेकाले पिबिआइएलटीडी मार्जिन वृद्धि भई ३१.७१ प्रतिशत पुगेको छ । यसअघि २२.४२ प्रतिशत थियो ।

यसबीचमा बैंकको ब्याजदर घटेपछि उद्योगको नोक्सानी कम भई गत वर्ष ७ करोड ९० लाख रुपैया झरेको छ । अघिल्लो वर्ष १६ करोड ४० लाख रुपैयाँ खुदनोक्सान भएको उद्योगले जनाएको छ । शुभश्रीले ४ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ ऋण रेटिङ गराएको छ । सिमेन्टको कच्चा वस्तु उत्पादनमा ३० प्रतिशत हिस्सा कोइलाको हुने गरेको छ ।

कोइलाको ८० प्रतिशत रकम डलरमा भुक्तानी हुने गरेको छ । जसले गर्दा डलर जोखिम बढी हुने गरेको उद्योगले जानकारी दिएको छ । कूल व्यापारमा ६५ प्रतिशत खर्च कोइलालगायत कच्चा वस्तु खरिदमा हुने गरेको छ ।

पोखरेल परिवारको अग्नी सिमेन्ट इन्डष्ट्रिज लिमिटेड सञ्चालनमा छ । ग्रुपको सिमेन्ट, अस्पतालका साथै शिक्षामा लगानी रहेको छ । उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल र प्रवन्ध सञ्चालकमा ताराप्रसाद पोखरेल रहेका छन् ।

उद्योगसँग प्युठानमा ८६ लाख टन र दाङमा ४३ लाख टन चुनढुङा खानीको लाइसेन्स पाएको छ । उक्त चुनढुंगाबाट ४६ वर्षसम्म निरन्तर दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्न सकिने उद्योगले जानकारी दिएको छ ।

आफ्नै चुनढुङा खानीहरू हुनुले मूल्य निर्धारण, ढुवानी लागत, समयमै आपूर्ति आदिको हिसाबले उद्योगलाई अन्य प्रतिस्पर्धीहरू भन्दा प्रतिस्पर्धात्मक लाभ प्रदान गर्दछ ।

उद्योग आफैले क्लिंकर उत्पादन गरिरहेको छ र यस अवधिमा क्लिंकरको आयातमा निर्भरता उल्लेखनीय रूपमा घटेको छ । क्लिंकर उत्पादन र ग्राइन्डिङ एकाइहरूको तुलनामा लागत प्रतिस्पर्धात्मक लाभ थप्नेछ ।

क्लिंकर र ग्राइन्डिङ एकाइहरू दुवै हुनु, चुनढुङ्गा खानीहरू र बढेको क्षमताले मध्यम अवधिमा कम्पनीको व्यवसायिक सम्भावनाहरूको लागि राम्रो संकेत गरेको छ । कम्पनीले खानी क्षेत्रलाई सिमेन्ट उत्पादन स्थलसँग जोड्ने ३७ किलोमिटर रोपवे निर्माण गर्ने योजना बनाइरहेको छ ।

यो विकासले सञ्चालन दक्षतामा सुधार गर्नेछ, उत्पादन बढाउन र साइटको नजिक रहेको भारतमा निर्यात विस्तार गर्न सक्ने उद्योगले जनाएको छ । उद्योगको मुख्य बजार दाङ, लुम्बिनी र नेपालगञ्जमा रहेको छ ।

शुभश्री अग्नी सिमेन्ट सन् २०१३ मा स्थापना भएको हो । साधारण सेयर निष्कासन गर्न उद्योग पब्लिक लिमिटेडमा परिणत भएको हो । उद्योगको दैनिक ७ सय टन क्लिङकर उत्पादन क्षमता रहेको छ । २०१७ देखि उद्योगले क्लिङकर उत्पादन थालेको हो । यस्तै २०१९ देखि दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्ने ग्रान्डिङ युनिट सञ्चालनमा ल्याएको हो ।

यस्तै पोखरेल परिवारले रुपन्देहीको भैरहवामा पाँचतारे होटल बुद्धस्टार सञ्चालनमा ल्याउन लागेका छन् । अग्नि सिमेन्ट र शुभश्री अग्नि सिमेन्टका सञ्चालक पोखरेलले १ अर्ब ८९ करोड रुपैयाँ लगानीमा पाँचतारे होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।

यसअघि बुद्धस्टारलाई तीन तारे होटल बनाउने तयारी भएकोमा पछि चारतारे बनाइएको थियो । अहिले स्तरोन्नती गरि पाँचतारे बनाएको छ । होटल पूर्वाधार निर्माणको चरणमा रहेको छ । यो वर्ष सञ्चालनमा ल्याउन तयारी गरिएकोमा ढिलाइ हुन गएको छ । अहिलेसम्म ४६ प्रतिशत वित्तीय प्रगति भएको होटलले जनाएको छ । होटलमा ७० प्रतिशत बैंकबाट ऋण र बाँकी ३० प्रतिशत पोखरेल परिवारको स्वपुँजी (इक्विटी) लगानी छ ।

होटलमा १ सय २० वटा कोठा बन्ने भएका छन । यसअघि ८७ करोड रुपैयाँ लगानीमा ६३ कोठाको होटल बनाउन लागिएको थियो । होटल सन् २०१९ को नोभेम्बरदेखि निर्माण सुरु भएको हो ।

होटल परियोजना सन् २०२२ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको थियो । तर, कोरोना महामारीको प्रकोपपछि होटलको डिजाइन परिवर्तन गरी चारतारेबाट पाँचतारे बनाएपछि लागत र समय दुबै बढेको हो ।

बुद्धस्टार २०१८ को नोभेम्बरमा स्थापना भएको हो । सिमेन्ट व्यवसायमा रहेका पोखरेल परिवारको होटलमा भएको यो पहिलो लगानी हो ।

यो पनि :

सिमेन्ट व्यवसायी पोखरेल परिवारले भैरहवामा १ अर्ब ८९ करोडमा पाँचतारे बुद्धस्टार होटल ल्याउँदै

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend