काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते बुधबार आमासँग बिदा मागेर विद्यालय गइन् । बुधबार पढाइ सकेर घरतर्फ सोझिएका उनका पाइलाले पुनः घरको आँगनमा टेक्न पाएनन् । विद्यालयबाट फर्किने क्रममा बाटोमा नै उनको हत्या भयो । साँझसम्म उनी नफर्किएपछि परिवारमा चिन्ता छायो । घरमा भागरथी र उनकी आमामात्र बस्थे । बुबाको केही समयअघि निधन भएको थियो । दाजु कामको सिलसिलामा भारतमा थिए । अबेरसम्म घर नफर्केपछि परिवार र छिमेकीले उनको खोजी गरे । घरभन्दा अलिमाथि वनमा उनको शव फेला प¥यो । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कार पछि हत्या भएको पुष्टि भयो । बलात्कारपछि विभत्स हत्या भएकी किशोरीको पार्थिव शरीर १७ औँ दिनपछि शुक्रबार महाकाली नदीको किनारबाट धुवाँसँग विलिन भयो ।
भागरथीको हत्या भएको १७ दिनसम्म उनका परिवारले घटनामा संलग्न दोषी पत्ता नलागेसम्म शव जिम्मा नलिने अडान राखेका थिए । प्रहरीले बुधबार घटनाको प्रारम्भिक विवरणसहित चडेपानीका दिनेश भट्ट (नातामा भागरथीका भाइ पर्ने) आरोपित भनी सार्वजनिक गर्याे । भट्टले विद्यालयबाट निस्किएर भागरथी आउने बाटो कुरेर लवलेक जंगलमा बसेको, उनी आएपछि सुरुमा किताब खोसेर फालेको, त्यसपछि कान्लाबाट धकेलर लडाएको र लडेपछि घाँटी थिची हत्या गरेको भनेर प्रहरीसमक्ष बयान दिएका थिए ।
सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन । तर पुनः बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिलसामु गरिएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकार गरे । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझे ।
भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएपछि यो प्रकरण कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणसँग जोडेर हेरिएको थियो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउनमा उनको बलात्कारपछि हत्या भएको थियो तर साढे २ वर्षसम्म बित्दा पनि उनका हत्यारा पत्ता लागेका छैनन् । निर्मला प्रकरणमा प्रहरी अनुसन्धान गिजोलिएपछि प्रहरी संगठनमाथि आमनागरिकको विश्वास गुमेको थियो । भट्ट प्रकरणमा त्यसकिसिमका गतिविधि नहोस् भनेर नागरिक समाजबाट प्रहरीका लागि निरन्तर खबरदारी भइरहेको थियो ।
घटनालगत्तै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले विज्ञप्ति जारी गरेर यथाशीघ्र अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न र निर्मला प्रहरण दोहोरिन नदिन माग गरेका थिए । अन्य राजनीतिक दलले पनि घटनाप्रति चासो देखाए । खबरदारी गरिरहे ।
सुदूरपश्चिममा एक पटक भइसकेको प्रकृतिको घटना पुनः दोहोरिएको थियो । त्यसकारण पनि प्रहरी यसपटक अलि सचेत देखियो । घटनाको दोषी पत्ता लगाउन माग गरिएको जुलुसमा कुनै अप्रिय घटना हुन नदिन र दोषी पत्ता लगाउन प्रहरी टोली खटाइयो । समग्र टोलीको कमाण्ड गरे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले ।
सुवेदीसहितको प्रहरी टोलीले १२ दिन घटनास्थलमा बसेर अनुसन्धान गरेपछि दोषी पत्ता लगाउन प्रहरी टोली सफल भयो । घटना भएको २ सातामा प्रहरीले ‘घटनाको प्रारम्भिक विवरण’ सहित अभियुक्त सार्वजनिक गर्यो । अभियुक्तको घटनास्थलमा उपस्थितसँग सोधपुछका क्रममा देखिएका शंकास्पद आधार, टेक्निकल पक्ष, अभियुक्तको साविती बयानका आधारमा प्रहरीले अभियुक्त सार्वजनिक गरेको सुवेदी बताउँछन् । उनी भन्छन् ‘यस किसिमका घटनामा अनुसन्धान अधिकृतको मेहनत, समाजको सहयोग र विश्वसनीय अनुसन्धानले नतिजा प्राप्त गर्न सक्छ । यी सबै पक्षबाट बैतडीको यो घटनाको दोषी पत्ता लगाउन सफल भएका हौँ ।’
यसअघि निर्मला पन्तको घटनामा प्रहरी संगठन गिजोलिएको र सत्यतथ्य सार्वजनिक हुन नसकेका कारण आफ्नो जिम्मेवारी बोध गरेर घटनाको अनुसन्धानमा लागेको उनी बताउँछन् । घटनापछि दोषी पत्ता लगाउन कसरी सफल हुनुभयो ? भन्ने सुनौलो नेपालको प्रश्नमा सुवेदीले आफ्नो योजना, काम र चुनौतिहरु यसरी सम्झिए :
जब गएको २२ गते घटनाको सूचना पाएँ । मैले त्यही दिनमा नै सोचिसकेको थिएँ यो घटना चाहिँ निर्मलापन्तको जस्तो नहोस् भन्ने । त्यसको लागि के–के गर्नुपर्छ र कुन हिसाबले अगाडि बढ्नुपर्छ भन्ने कुराको चिन्तन गरेर त्यही अनुसार योजना बनाउन थालेको थिएँ । पहिला निर्मला पन्तको घटनामा भएका प्रहरीका तर्फका कमिकमजोरी र परिस्थितिजन्य कमजोरीका बारेमा जानकारी भएकाले त्यो चाहीँ कुनै पनि हालतमा नहोस् भन्ने चाहाना र जिम्मेवारीको बोधसहित आफैँ गएर अनुसन्धान गर्नुपर्छ भन्ने सोच गरेर नै गएको थिएँ ।
घटना स्थलको राम्रो सुरक्षा गर्नुपर्ने, घटनास्थलमा सरकारी वकिल, डाक्टर लानुपर्ने जनप्रतिनिधिको रोहवरमा घटनास्थलको बारेमा राम्रोसँग बुझ्नुपर्ने, फोटोपत्रकार लगेर घटनास्थलको फोटो खिच्नेलगायतका सबै कुरामा आफैँले ध्यान दिएर अनुसन्धानमा अगाडि बढेँ ।
२४ गते घटनास्थलमा जाँदा भागरथीले न्याय पाउनुपर्छ भनेर विरोध प्रदर्शन भइरहेको थियो । जाने क्रममा म आफैँले पनि प्रदर्शनकारीहरुसँग भेटेँ । प्रदर्शन गर्नेहरुसँग आफूले कुरा गरेँ । निर्मला पन्तको घटना दोहोरिन नदिने बाचासहित म घटनास्थल र पीडितको घरसम्म पुगेँ । आन्दोलन नगरेर अनुसन्धान गर्न सहयोग गर्नका लागि उहाँहरुसँग अनुरोध गरेँ । त्यसपछि उहाँहरुले पनि अनुसन्धानको काम सुरु गर्न सहज वातावरण सिर्जना गरिदिनुभयो । यसले पनि अनुसन्धानमा सफलता मिल्यो ।
सुरुका दिनहरुमा स्थानीयहरु हामीसँग बोल्न हिचकिचाउने, बोल्न डराउने जस्तो पनि देखियो । सानो कुरा पत्ता लगाउन पनि हामीलाई समय लाग्ने देखिएको थियो । तर क्रमशः हाम्रो मिहिनेत उहाँहरुले देख्नुभयो । पीडितको परिवार पनि आउनुभयो । उहाँहरुले पनि हाम्रा कुराहरु सुन्नुभयो । आफूसँग भएका जानकारीहरु सहज रुपमा दिन थाल्नुभयो । हामीमाथि उहाँहरुको विश्वास पनि भयो ।
सुरुमा हामीले फराकिलो क्षेत्र बनाएर अनुसन्धान सुरु गरेका थियौँ । सम्भावित र शंकास्पद विषय तथा व्यक्तिहरु समेट्ने र त्यसबाट अनुसन्धान गरेर हामीले साँघुरो घेरा बनाएर अनुसन्धान अगाडि बढायौँ । क्रमशः ‘टेक्निकल र म्यानुअल’ रुपमा साँघुरो घेरा बनाएर अन्तिममा केही व्यक्ति र समूहबीचमा अनुसन्धान केन्द्रित बनायौँ । अनुसन्धानको यही क्रममा हामीले अन्तिम एक जनामा घटनामा संलग्न भएको पुष्टि हुने केही आधारहरु प्रशस्त मात्रामा भेट्यौँ । त्यसका आधारमा हामीले दोषी पत्ता लगाउन सफल भयौँ । अहिलेसम्मको अनुसन्धान, पक्राउ परेका व्यक्तिको बयान र घटनास्थलको प्रकृति हेर्दा एक जना मात्र यो घटनामा संलग्न भएको तथ्यहरु फेला परेको छ ।
सुरुमा घटनाको बारेमा जानकारी पाइसकेपछि सुरुवातमा भएको आन्दोलन र घटनाको प्रकृतिका कारण अलिकति मनोबल गिरेको पनि हो । पहिला पनि निर्मला पन्तको घटनामा प्रहरीका केही कमजोरी देखिएकाले घटनाको बारेमा निकै चुनौति महशुस गरेको थिएँ । ‘यो अपराधको अनुसन्धान’ मुख्य कुरा हो । हामीले यो घटनाको दोषी छिटो पत्ता लगाउनुपर्छ भनेर हाम्रो टोली निरन्तर लागिरह्यो । त्यसकारण पनि यो अनुसन्धान सफल भयो ।
भौगोलिक विकटताका कारण पनि हाम्रा ‘टेक्निकटल टिम’हरुले समस्या भोग्नु परेको थियो । इन्टरनेट, बत्तीलगायतका कारणले बेला बेलामा समस्या पनि निम्त्याएको थियो । हामीले विभिन्न चुनौतिका बाबजुद पनि दोषी पत्ता लगाउन सफल भयौँ ।
नागरिक समाज, त्यहाँको स्थानीय र सञ्चारमाध्यमबाट पनि राम्रो सहयोग पाएको उनको भनाइ छ । उनले प्रहरीले परिवारसहित केही व्यक्तिबीचमा घटनामा भइरहेको प्रगतिबारे जानकारी दिएर विश्वासमा लिने प्रयास गरिरहेको र जसले अनुसन्धान ‘आउट अफ ट्रयाक’मा जान नपाएको पनि बताए । यद्यपी घटनाको दोषी पत्ता लागेपछि केही सञ्चारमाध्यममा आएका कुरा र एक जनाले मात्र यसरी हत्या गर्न नसक्ने तर्कसहित केही मानिसले शंका उत्पन्न गराएपछि परिवारमा पनि केही शंका उपशंका उठेको पाइएको तर अभियुक्तले आफ्ना आफन्तसँग बलात्कार र हत्या स्वीकार गरेपछि भने अब यसमा कुनै शंका नरहेको सुवेदी बताउँछन् ।
प्रहरीमा दिएको बयान अनुसार भागरगथीको हत्या दिनेशले बदला भावका कारण गरेका भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो यसबारे भने अहिले स्पष्ट नभएको सुवेदीले बताए ।