पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिंडेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै नेता खनालले देशभर पञ्चभेला गरेको टिप्पणी गरेका हुन् । भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किलगत्तै खनालले पत्रकारहरुसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनि गरेको र देशभर पञ्चभेला गर्दै हिंडेको बताएका हुन् ।
उनले आफू भारतमा रहदा कुनैपनि राजनीतिक भेटघाट नगरेको दाबी पनि गरेका छन् । आफ्नो देशको समस्या आफै हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरुसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको पनि उनले बताए ।
नेता खनालले नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरुको आन्दोलन सफलतामा नपुगि विश्राम नहुने जिकीरसमेत गरे । भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।