पार्टीभित्र अल्पमतमा परेपछि प्रतिनिधिसभा विघटन गरेर शक्तिको दम्भ देखाउँदै मध्यावधि निर्वाचनको मिति घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली दुई महिना बित्दा नबित्दै आत्तिन थालेका छन् ।
पुस ५ मा प्रतिनिधिसभा विघटनको घोषणा गरेर पुरानै मितिमा भएको निर्णय बमोजिम भन्दै शक्तिको दुरुपयोग गर्दै असंवैधानिक तवरले संवैधानिक निकायहरुमा आफू निकटका मान्छे नियुक्त गरेका ओली आजका दिनसम्म आइपुग्दा निकै गलेको देखिएका छन् ।
उनले शनिबार आफू निकटको सभालाई विराटनगरमा गरेको संवोधनले उनीभित्रको त्रासलाई प्रतिबिम्बित गरेको छ । विराटनगरमा उनले घुमाउरो पारामा अदालतलाई धम्की दिएका छन् । कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलुक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’ उनी यतिमा मात्रै रोकिएनन् । कुनै जालझेल र षड्यन्त्र गरेर यदि संसद पुनस्र्थापना भयो भने आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
संसद विघटन यता सबैतिर सेटिङ मिलिसकेकाले बैशाखमै चुनाव हुने दाबी गर्दै आएका ओली एकाएक ‘यदि भएन भने’को अवस्थामा पुग्नुले उनीभित्रको मनोवैज्ञानिक शिथिलतालाई उजागर गरेको छ । यसले उनको कमजोर मानसिकतालाई छर्लङ्गै पारिदिएको छ । एकातिर उनी पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिएको आरोप लगाउँछन् भने अर्को तिर आफ्नो सरकारले देशलाई नयाँ युगमा लान सफल भएको दाबी पनि गर्छन् । यस्तो दोहोरो चरित्रले उनको तर्कशक्ति कमजोर भएको प्रष्टै देखिइरहेको थियो ।
यस्तो बेला उनी शनिबार विराटनगरमा आफैले मिलाएको ‘सेटिङ’प्रति शंका गरिरहेका थिए । केही दिन अगाडि उनले निर्वाचन आयोगले आफूले सोँचेअनुरुप काम नगरेको भन्दै गुनासो पनि गरेका थिए । उनले केही दिन अगाडि विभाजित नेकपाको दुवै पक्षमा नलाग्ने भन्दै एकता अभियान घोषणा गरेका वामदेव गौतमलाई चुनावी सरकारको गृहमन्त्री बन्न प्रस्तावसमेत गरेका थिए । यसैक्रममा शुक्रबार माधव नेपालले बाहिर जतिसुकै आलोचना र गाली गरेपनि ओलीले प्रचण्ड र आफूसँग भित्र मीठा कुरा गरेर सहकार्यका लागि मान्छे पठाइरहेका बताएका थिए ।
प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा उत्रीएका आफ्नै सहकर्मीहरुलाई हदैसम्मको तुच्छ गाली र निकृष्ट शैलीमा लल्कारदै,े पुस ५ को कदमको विरोधमा सडकमा निस्किएका नागरिकलाई पानीका फोहरा हान्दै आफ्नो शक्ति प्रदर्शन गर्दै आएका ओली किन एक्कासी डराएका होलान् त ? उनी यसरी अत्तालिनुका पछाडि निश्चयनै केही कारणहरु छन् ।
संसद विघटनको पक्षबाट बहस गर्ने वकिलहरुले तर्कसंगत बहस गर्न नसक्नु, पार्टी विभाजनपश्चात पूर्व माओवादीबाट आफूनिकट नेकपामा आएको कित्ताको असन्तुष्टी, निर्वाचन आयोगमा देखिएको कानूनी जटिलता एवं नेकपाको सरकार रहेको ६ मध्य ४ प्रदेशमा आफूनिकटको नेकपा सरकार अल्पमतमा पर्नु लगाएतका विषयहरुले उनी निकै डराएका हुन् ।
सनकको भरमा प्रतिनिधिसभा विघटन गरेका ओलीले विघटनपश्चातको परिस्थितीलाई जसरी ह्यान्डल गर्छु भन्ने सोँचेका थिए आजका दिनसम्म आइपुग्दा उनको आत्तिएको मानसिकताले परिस्थिती उनले सोँचेबमोजिम नभएको प्रष्ट देखिएको छ ।