एजेन्सी । म्यानमारको सेनाले सञ्चालन गरेको समाचार पेज ‘तत्मादअ ट्रु’ फेसबुकले बन्द गरेको छ। सामाजिक सञ्जाल फेसबुकले सो समाचार पेज आइतबारदेखि बन्द गरिदिएको हो।
सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरू उल्लंघन भएकाले म्यानमारी सेनाद्वारा सञ्चालित समाचार पेज बन्द गरिएको फेसबुकले जनाएको छ।
फेसबुकका प्रतिनिधिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बारम्बार हिंसा उक्साएको तथा सामाजिक हानि पुर्याएका कारण हाम्रो विश्वव्यापी नीतिअनुसार तत्मादअ ट्रु समाचार सूचना पेज फेसबुकबाट हटाइएको छ।’
समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार फेसबुकको निर्णयप्रति सैनिक अधिकारीले प्रतिक्रिया लिने प्रयास गरेपनि असफल भएको छ ।
फेब्रुअरी १ मा सैनिकले सत्ता हातमा लिएपछि विश्वभर नै चर्को विरोध भइरहेको छ।
सैन्य ‘कू’ को विरोधमा शनिबार भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर दुई सर्वसाधारणको मृत्यु भएको थियो।