काठमाडाैं । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण सुरु भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु भएको हो ।
खानेपानी मन्त्री मणि थापाले परीक्षण गरिने कार्यको शभारम्भ गरेका हुन् ।
गत असारमा सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालक बगाएको थियो ।
त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।
विगतको जस्तो दुर्घटना नहोस् भनेर आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको छ । आपतकालीन अवस्थाका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।