काठमाडौं। प्रचण्ड – माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन्। नेकपा चितवनले आज आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै पाण्डेले प्रतिगमनविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयले न्याय नमरेको पुष्टि भएको बताएका हुन्।
“सर्वोच्चको निर्णयले लोकतन्त्र र संविधान बचाउन सफल भएको छ”, उनले भने, “प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिको प्रयासले प्रतिगमन पराजित भएको छ ।” सर्वोच्च अदालतले न्यायपूर्ण आन्दोलनलाई बचाएको छ, न्यायमूर्तिलाई सलाम छ, उनले भने ।
नेता पाण्डेले चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको उल्लेख गर्दै हाम्रो चितवन, राम्रो चितवन, सभ्य चितवन भव्य चितवन बनाइने बताए । नेकपाको मूलधार अध्यक्षद्वय प्रचण्ड र नेपालले समातेको भन्दै उनले बाटो बिराएर गएकालाई घर फर्कनसमेत आग्रह गरे । उनले भने, “सर्वोच्चले मूलधार यही हो भनेर पुष्टि गरिसकेको छ । आउनु हामीसँगै जाउँ ।” नेकपालाई एकजुट बनाएर लैजाने समय आएको उनको भनाइ छ ।