काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकले आफू निकट सांसदहरुलाई राजधानी उपत्यका नछोड्ने निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अत्यावश्यक काम बाहेक उपत्यका नछोड्न निर्देशन दिएका हुन् ।
त्यस्तै प्रचण्ड-नेपाल समूहले उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाएको छ । आजको बैठकमा उपस्थित हुन नसकेका सांसदहरुलाई काठमाडौं बोलाएको हो । आजको अनौपचारिक भनिएको बैठकमा ८० जना सांसदहरु उपस्थित भएका थिए ।
मंगलबार संसद् पुनर्स्थाना भएपछि चितवनमा रहेका प्रचण्ड र माधव नेपाल बिजय जुलुस र बैठकका लागि काठमाडौं आएका थिए । काठमाडौ आए लगत्तै दुई अध्यक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेका थिए ।