काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले केही पनि गर्दैन भनेर जनताले भोट नदिएको तर अहिले कांग्रेस नै चाहिने स्थिती आएको गुनासो गरेका छन् ।
बुधवार महेन्द्रनारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति स् आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘कांग्रेसले केही गर्दैन भनेर नागरिकले हराए, भोट दिएनन्, अहिले कांग्रेस चाहियो भन्नुपरेको छ । कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली नागरिक, बुद्धिजीवी, पत्रकार जगत सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु ।’
त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पुर्याउन नसके पद छाड्दा राम्रो हुने तर ओलीको पार्टीको कुरा भएकाले आफूहरूले दबाब नदिने बताए ।
अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको उनले बताए । उनले भने, ‘मलाई विश्वास छ, ओलीले अदालतको निर्णय पछाडि कि त आफ्नो बहुमत पुर्याउनु पर्यो, होइन भने छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरूको पार्टीको कुरा हो ।’