logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नारायणगढ–बुटवल सडक खण्डमा २२ पुल निर्माण

    नारायणगढ–बुटवल सडक खण्डमा २२ पुल निर्माण

    2.8K
    Shares

    चितवन । सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो ।

    सडक विस्तारअन्तर्गत खण्ड १ को गैंडाकोट–दाउन्ने सडकमा साना कल्भर्ट निर्माणको काम सकिएको छ । गैंडाकोटमा अधिकांश साना कल्भर्ट निर्माण भइसकेको तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जंगल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । बाइस साना कल्भर्ट निर्माण भएर १२ ठूला पुलको काम पनि तीव्र गतिमा अगाडि बढेको आयोजना प्रमुख रमेशकुमार दिष्टीले बताए ।

    दिष्टीका अनुसार गैंडाकोट क्षेत्रमा पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरेर ठूला पुल निर्माणको काम धमाधम अगाडि बढेको छ । सडकको दायाँबायाँ सतह मिलाउने, नाला निर्माण गर्ने र गैंडाकोट क्षेत्रमा पर्ने सडक भित्ता कटान तीव्र गतिमा भइरहेको उनको भनाइ छ ।

    सडक किनारका रुख काटिँदै

    सडक किनारका रुख कटान र विद्युत्का तार र खम्बा सार्न ढिलाइ हुँदा समयमै काम सक्न चाप परेको प्रमुख दिष्टीले बताए । राजमार्गबाट उत्तरतर्फका रुख कटानको काम तीव्र रुपमा भइरहँदा दक्षिणतर्फको रुख कटान भने हुन सकेको छैन । दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र परेकाले निकुञ्जले अनुमति नदिँदा रुख कटान रोकिएको आयोजना प्रमुख दिष्टीले राससलाई जानकारी दिए । 

    सडक विस्तार गर्दा झण्डै ११ हजार रूख काटिने आयोजनाले जनाएको छ । यो खण्डको ६ स्थानमा वन क्षेत्र छ । छपान ९रुख काट्न नम्बर लगाउने० भइसकेको र मन्त्रालयबाट अनुमतिसमेत पाइसकेका अवस्थामा निकुञ्जले अनुमति नदिँदा काम रोकिएको उनले बताए । सडक किनारका खम्बा निर्माण व्यवसायीमार्फत हटाइने भएकाले सो कार्य छिट्टै शुरु हुने उनले विश्वास व्यक्त गरे । 

    नारायणगढ–बुटवल सडक खण्ड विस्तारअन्तर्गत पूर्वी खण्डमा १२ ठूला ९मेजर ब्रिज० र साना २२ ९माइनर ब्रिज० पुल बन्ने आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । सोही क्षेत्रमा २२४ बकस कल्भर्ट बन्ने छन् । हाल ठूलो पूल भएका स्थानमा सडकबाट उत्तरतर्फ ११ दुई लेनका नयाँ पुल बन्नेछ । दुम्किबासको ज्यामिरेको एउटा पूल मात्रै दक्षिणतर्फ बन्ने आचार्यले जानकारी दिए । रुपन्देही, नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम० र नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० गरी तीन जिल्लालाई छोएको सो आयोजनाअन्तर्गत साना २२ पुल सबै नयाँ बन्ने आचार्यको भनाइ छ । 

    चार स्थानमा जैविक मार्ग

    नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पहिलो खण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको जङ्गल क्षेत्रमा चार ठाउँमा जैविकमार्ग निर्माण गरिने आचार्यले जानकारी दिए । जंगली जनावार वारपार गर्नका लागि चार स्थानमा अन्डरपास ९सडकमुनिबाट जनावर वारपार गर्ने बाटो बनाउने० र दाउन्ने क्षेत्रमा ओभररपास ९सडकको माथिबाट जनावर हिँडडुल गर्ने ठाउँ० निर्माण गरिने योजना छ । सडकबाट नै जनावर वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले तिनका लागि वैकल्पिक मार्गका रुपमा जैविक मार्ग निर्माण गर्न लागिएको सूचना अधिकारी आचार्यले बताए । 

    सडकमा अन्डरपासका लागि आयोजनाले केही स्थानमा अहिले रहेका कल्भर्ट नै प्रयोग गर्ने भन्दै आचार्यले केही स्थानमा भने नयाँ बनाउने तयारी रहेको बताए । नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले लिएको छ । एक सय १४ किमी सडक खण्डको काम गैंडाकोट–दाउन्ने र दाउन्ने–बुटवल दुई खण्डमा विभाजन गरेर शुरु गरिएको हो । गैंडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ र दाउन्ने÷बुटवल ४९ किमी सडकलाई खण्ड २ मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । 

    अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको २८ किमी सडकमा सर्भिस लेन निर्माण हुनेछ । 

    सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्नेगरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ । 

    १७ अर्ब लागत

    विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरेको सडक ५८ वर्षपछि फराकिलो हुने क्रममा छ । एशियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी थप नेपाल सरकारकै लगानी रहेको आयोजना प्रमुख दिष्टीले बताए । गैंडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend