काठमाडाैं । प्रचण्ड माधव पक्षका नेता रघुजी पन्तकाे अभिव्यक्तिमा राष्ट्रिय सभा सांसद कोमल वलीले आपत्ति जनाएकी छिन् । गायिकासमेत रहेकी वलीले शनिबार साँझ ट्वीटरमार्फत पन्त निच भएको आरोप लगाएकी थिइन्। आइतवार बिहान वलीले फेसबुकमार्फत पनि आपत्ति जनाएकी छिन् ।
ट्वीटरमा वलीले लेखेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ।’ वलीले महिलामाथि प्रकट गरिएका दरिद्र सोचको सिकार महिलाहरु हुने गरेको उल्लेख गर्दै प्रश्नसमेत गरेकी छन् । उनले भनेकी छिन्, ‘पन्तजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’
फेसबुकमार्फत उनले एकअर्काको सम्मान गर्न नसिक्ने नेतृत्वले समाजलाई दुर्घटनातिर लैजाने बताएकी छन् । ‘पूर्वीया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् ।’
उनले थप लेखेकी छिन्, ‘एकले अर्कालाई सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु विचैमा रोकिएको जस्तो छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ विवेक हिन मानिसको आलोचनाले आफैँलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला?’
एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका छन् ।
पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियाेमा पन्तले २० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले सांसद बनाएकाे बताएका छन् । ‘पाेइल जान पाम भनेपछि सांसद त तिनै भइन् कपाल फुलेका बुढीहरुले केही पाएनन्’ पन्तले भनेका छन् ।