काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी ओली अनुचित कुराको प्रतिक भएको दाबी गरेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘फायर साइड’मा उनले यस्तो दाबी गरेका हुन् ।
प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री ओलीले केही सांसदहरुलाई आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेको दाबी गर्दे उनले भने, ‘केपी ओली त साम दाम दण्ड भेद, पैसा झुट प्रचार, सबै कुराको प्रतिक हो उहाँ प्रतिक । अनुचित कुराको प्रतिक हो उहाँ ।’
उनले सांसद किनबेचको प्रसंगमा त्यसका लागि आफूहरुसँग सत्ता र शक्ति नभएको पनि बताए ।
प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको पुस ५ को निर्णय सर्वोच्च अदालतले फागुन ११ मा बदर गरेपछि नयाँ सरकार निर्माण प्रकृयामा सांसद किनबेचको श्रृङखला चल्न सक्ने आशंका गरिएको छ ।
केही दिन अगाडि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि संसद पुनःस्थापनापछि सांसद किनबेचको खतरा बढेको बताएका थिए ।