logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नारेश्वर तालका लागि जग्गा अधिग्रहण गर्न एक करोड मुआब्जा वितरण

    नारेश्वर तालका लागि जग्गा अधिग्रहण गर्न एक करोड मुआब्जा वितरण

    2.5K
    Shares

    तनहुँ । तनहुँको व्यास नगरपालिका–१० मा निर्माण गर्न लागिएको नारेश्वर तालका लागि जग्गा अधिग्रहण गरिएका उपभोक्ताहरुलाई नगरपालिकाले रु एक करोड ३७ लाख ६० हजार ५०५ मुआब्जा वितरण गरेको छ ।

    नगरपालिकाले ताल निर्माणका लागि करीब २५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । आन्तरिक एवं बाह्य पर्यटकलाई जलविहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । गत वर्ष र यस वर्ष गरी २० जनालाई रु एक करोड ३७ लाख ६० हजार ५०५ वितरण गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । बढी मुआब्जा पाउनेमा रु १० लाखसम्म रहेको उनले बताए ।

    उपभोक्ताको २५ र ऐलेनी जग्गा करीब २० रोपनी गरी कूल ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न लागिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड १५ लाख बजेट विनियोजन गरिसकेको बताइएको छ । देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्वर ताल पर्यटन प्रवद्र्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो टुरिजम क्षेत्र बनाउन लागेको हो ।

    पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडामा वनभोजस्थल र भ्यू टावर निर्माण गरेर फूलै फूलको बगैँचा बनाउने योजनाअनुरुप काम भइरहेको वडाध्यक्ष सापकोटाले बताए । ‘सो स्थानमा अहिले सार्वजनिक शौचालय र ट्रष्ट निर्माण गर्ने काम भइरहेको छ’, उनले भने, ‘उक्त स्थानबाट सिधै फुड ट्रयाक बनाएर खहरेस्थित छाङ्ग बाराही मन्दिर जोड्ने लक्ष्य रहेको छ ।’ ४० फिट अग्लो उचाइको भ्यू टावर निर्माणका लागि डिपिआर तयार भइसकेको उल्लेख गर्दै वडाध्यक्ष सापकोटाले सो टावर निर्माणका लागि नगरपालिकाले रु १५ लाख बजेट समेत विनियोजन गरिसकेको जानकारी दिए ।

    व्यास मार्ग हुँदै पर्यटकहरु छाङ्ग बाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिँढी चढ्दै देवीडाँडा पुग्न सकिनेछ । देवीडाँडामा निर्माण गरिएको भ्यू टावरबाट दृष्य अवलोकनपश्चात् दुम्सीचौरस्थित कालिका मन्दिरको दर्शन गरी थालीडाँडा होमस्टेमा पुगेर बास बस्ने व्यवस्था मिलाइने व्यवस्था गर्न लागिएको बताइएको छ ।

    भ्यू टावरबाट जिल्लाको अधिकांश भाग देख्न सकिन्छ । पहाडकी रानी नामले परिचित बन्दिपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र गलेखामकोटलगायत स्थानको अवलोकन गर्न सकिन्छ ।

    नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हुँदै पृथ्वीराजमार्गमा पुगेर पर्यटकहरु गन्तव्यमा पुग्न सक्नेछन् । तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्र्याक बनाउने कालिका जङ्गलमा रिसोर्ट निर्माण गर्नेलगायत संरचना निर्माण गरिनेछ । ‘ताल निर्माणको प्रक्रिया बल्ल सकिएको छ’, उनले भने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend