इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत लिन सफल भएका छन् ।
प्रधानमन्त्री खान शनिबार संसदबाट विश्वासको मत लिन सफल भएका हुन् । विश्वासको मत लिन १७२ भोटको आवश्यकता रहेकामा उनले १७८ मत प्राप्त गरेका हुन् ।
सत्तारुढ दल पिटिआई बुधबार भएको सिनेटको निर्वाचनमा महत्वपूर्ण सिटमा पराजित भएपछि खानले संसदबाट विश्वासको मत लिने निर्णय गरेका थिए । विपक्षी दलले भने प्रधानमन्त्री खानले तत्काल राजीनामा दिनुपर्ने भन्दै संसद बैठक बहिस्कार गरेको थियो ।
खानले विश्वासको मत लिन सफल भएपछि पाकिस्तानको राजनीति अस्थिर नहुने विश्लेषकहरुको भनाइ छ ।
सन् २०१८ मा उनी प्रधानमन्त्री हुँदा १७६ मत प्राप्त गरेका थिए ।