गीतसंगीत विधाको सबैभन्दा ठूलो मानिने ग्रामी अवार्डको ६३ औं संस्करण हिजो आइतबार अमेरिकामा सम्पन भएको छ । यस ग्रामीमा सहभागीता जनाउनका लागि कोरोना महामारीका बीच पनि थुप्रै कलाकारको उपस्थिति रहेको थियो । जसमा महिला कलाकारहरुले यस पटको अवार्डमा थुप्रै रेकर्ड बनाएका छन् ।
६३ औं ग्रामीमा महिलाले धेरै अवार्ड जित्ने मामलामा पनि ऐतिहासिक बनेको छ । बियोन्सी र टेलर स्विफ्टसँगै यो पालि थुप्रै महिला कलाकारले नयाँ रेकर्ड राखेका छन् । यो सालको ग्रामी विशेष बन्यो गायिका बियोन्सी र टेलर स्विफ्ट लागि । २८ औँ अवार्ड जितेसँगै बियोन्सी ग्रामीको इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने महिला बनिन् ।
त्यसै गरि टेलर स्विफ्ट तीन पटक एल्बम अफ दि इयर जित्ने पहिलो कलाकार बनिन् । यस अघि पनि टेलरले २० वर्षकै उमेरमा पहिलो एल्बम ‘फियरलेस’का लागि उत्कृष्ट एल्बमको उपाधि जितेर सबैभन्दा कम उमेरमा यो विधाको अवार्ड जित्ने कीर्तिमान राखेकी थिइन् । २८ ग्रामी जित सँगै बियोन्सी पुरुषको समेत हिसाब गर्दा धेरै ग्रामी जिते कलाकारको दोस्रो स्थानमा छिन् । ३१ ग्रामीसहित पहिलो नम्बरमा भने जर्ज सोल्टी रहेका छन् ।
यसै गरि यो वर्ष बिल्ली एलिस र मेगन दि स्टेलनले पनि आआफ्नो विधामा अवार्ड हात पारे । मिरान्डा लाम्बार्टले उत्कृष्ट कन्ट्री एल्बमको अवार्ड जित्न सफल भईन् । पप गायनमा दुवा लिपाले र हरले रेकर्ड अफ दि इयरको अवार्ड जितिन् । कार्यक्रम दुवा लिपा, कार्डी बी, बिल्ली एलिस, ब्याड बन्नी आदिले दमदार गीत प्रस्तुत गरेका थिए ।