काठमाडौं । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्स–रे सेवा दिन थालेको छ । गर्भावस्थामा अनिवार्य भिडियो एक्स–रे आवश्यक भए पनि गाउँमा भिडियो एक्स–रे सेवा नहुँदा सदरमुकाम धाउन पर्ने अवस्थालाई हेरेर जैमिनी नगरपालिकाले गाउँगाउँमा भिडियो एक्स–रे सेवा दिन थालेको हो ।
स्वास्थ्यकर्मीले तीनपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ भने पनि सचेतनाको अभाव, भौगोलिक विकटता र स्वास्थ्य संस्थामा सहज पहुँच अभावका कारण गर्भवती अवस्थामा स्वास्थ्य मापदण्डअनुसार भिडियो एक्स–रे गर्ने र गर्भजाँच गराउनेको सङ्ख्या न्यून रहेको भन्दै जैमिनी नगरपालिकाले गाउँमै पुगेर भिडियो एक्स–रे सेवा दिन थालेको छ ।
समयसमयमा भिडियो एक्स–रे नगर्दा गर्भवती, गर्भको बच्चा र प्रसूतिको समयमा आउन सक्ने जटिलतालाई न्यून गर्नका लागि जैमिनी नगरपालिकाले पछिल्लो समय गाउँगाउँमै गएर भिडियो एक्स–रे शिविर सञ्चालन गर्न थालेको हो । जैमिनी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स सुनिता चालिसेले जैमिनीका अधिकांश गर्भवतीले एकपटक मात्र भिडियो एक्स–रे गरेको पाइएपछि जोखिम न्यूनीकराण्का लागि गाउँगाउँमै पुगेर भिडियो शिविर सञ्चालन गर्न थालेको बताइन् ।
नगरपालिकाले सङ्घीय सरकारको एक लाख र नगरको दुई लाख गरी यस आर्थिक वर्षको असोज महिनादेखि नगरपालिकाका एक शहरी स्वास्थ्य क्लिनिक र आठ स्वास्थ्य चौकीबाट भिडियो एक्स–रे शिविर सञ्चालन गर्न सुरु गरेको हो । पैंयुथन्थाप स्वास्थ्य चौकी, राङखानी स्वास्थ्य चौकी, छिस्ती स्वास्थ्य चौकी र नेपाने शहरी स्वास्थ्य क्लिनिकमा पहिलोपटक असोज र दोस्रोपटक पुस महिनामा भिडियो एक्स–रे शिविर सञ्चालन गरिएको चालिसेले बताइन् ।
त्यसैगरी नगरपालिकाले जैदी स्वास्थ्य चौकी, अर्जेवा स्वास्थ्य चौकी, दमक स्वास्थ्य चौकी, सर्कुवा स्वास्थ्य चौकी र विनामारे स्वास्थ्य चौकीमा कार्तिक र माघ महिनामा दुईपटक शिविर सञ्चालन गरिसकेको छ । शिविरबाट हालसम्म २३३ जना महिलाले भिडियो एक्स–रे सेवा लिएको चालिसेको भनाइ छ ।