सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा एमाले माधव नेपाल समूहका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारलाई नेकपा एमालेले दिएको समर्थन कायम रहेको बताएका छन् ।
बुधबार सुनौलो नेपालसँगको संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमाले संसदीय दलको भनिएको बैठक आधिकारीक थिएन । औपचारिक सूचना पनि जारी गरिएको थिएन । त्यसरी गरिएको गुटगत भेलाको निर्णय हामीलाई स्वीकार्य छैन । २० जनाको संसदीय दल हो । उहाँहरुसँग बहुमत पनि देखिँदैन । समर्थन फिर्ता भएको छैन ।’
नेकपा एमालेमा देखिएको विभाजनको असर प्रदेश सरकारहरुमा देखिएको छ ।
कर्णाली प्रदेशमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही मूख्य मन्त्री छन् ।