काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे असहमति पत्र बुझाएका छन्। खनाल–नेपाल पक्षका सांसदहरु सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठले शनिबार ओलीलाई पत्र बुझाएका हुन् ।
असहमतिपत्रमा पार्टीको विधान र नियमावली विपरीत भएका काम कारवाही सच्याउन ध्यानाकर्षण गराइएको छ । साथै पार्टीमा लोकतान्त्रिक विधी स्थापित गर्न र पार्टी पद्धती तथा अभ्यासको धज्जी नउडाउन चेतावनी दिइएको छ ।
तर पत्र बुझेपछि ओलीले उल्टै खनाल–नेपाल समूहका सांसदलाई चेतावनी दिएका छन् । उनले गुटगत प्रस्तावलाई स्वीकार नगर्ने स्पष्ट पारेका छन् । ‘व्यक्तिगत गुनासो भए त्यस हिसाबले आउनुहोस् । गुट र समूहगत सौदावाजी अबको एमालेमा स्वीकार्य हुने छैन,’ ओलीको भनाई उद्धृत गर्दै एक सांसदले बताए ।