काठमाडौं। नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित अन्य ५ जनालाई स्पष्टीकरण सोध्ने भएको छ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
उनीहरुमाथि पार्टी हित विरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउन लागिपरेको, सरकारको बदनाम गर्दै गुटगत भेला गरेको जस्ता आरोप लगाइएको छ ।
बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन पनि गरेको छ ।
त्यस्तै बैठकले हाल विद्यमान २ सय ६४ सदस्यिय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने निर्णय पनि गरेको छ।