काठमाडौं । नेकपा माओवादी (केन्द्र)को भातृ संगठन योङ् कम्युनिष्ट लिग नेपाल (वाईसीएल)ले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा चाल्न सक्ने थप प्रतिगमनकारी कदमप्रति सचेत रहन अपिल गरेको छ । चैत्र ४ र ५ गते काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको चौथौ पुर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न आइतबार एक विज्ञप्ति जारी गर्दै वाईसीएल्ले यस्तो अपिल गरेको हो ।
‘मातृ पार्टी नेकपा माओवादी केन्द्र र एमालेबिच एकता सम्पन्न भई बनेको नेकपाको एकता भंग गराउन सफल एकताविरोधी गैर कम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्दै हाल नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकारवादी, तानाशाही र गैरकम्युनिष्ट चरित्रको खेद व्यक्त गर्दछौं । प्रधानमन्त्रीको हैसियतमा निरकुंश र परिवर्तनविरोधी समुहको नेतृत्व गरिरहेका ओलीले आगामी दिनमा चाल्न सक्ने थप प्रतिगमनकारी कदमप्रति सदैव चनाखो र सचेत रहन आम जनसमुदाय तथा युवाहरुमा अपिल समेत गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ ।
वाईसीएलको माउ पार्टी नेकपा माओवादी केन्द्रले गरिरहेको समाजवादी क्रान्तिको तयारीमा संगठनको काँधमा आएको जिम्मेवारीलाईसमेत कर्तव्यवोध गरीरहेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्पन्न पुर्ण बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रिय समितिको संख्या १६१ सदस्य हुने तय गरेको छ । साथै तात्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच सम्पन्न एकता सर्वोच्व अदालतको फैसलाले भंग गरेसँगै मातृ पार्टी पुरानै अवस्थामा फर्किएको अवस्थामा संगठनका विभिन्न समितिहरुमा पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरण समेत गरेको छ ।
यस्ता छन् बैठकका निर्णयहरु
पुरानो सदस्यताको नविकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्बाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । सदस्यता वितरण चैत्र महिनाभित्र गरिसक्ने ।
संगठनको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८–३० गते काठमाडौंमा सम्पन्न गर्ने । इकाई देखि स्थानीय तह हुँदै जिल्ला भेलाहरु बैशाख महिनाभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला जेठको २० गतेभित्र सम्पन्न हुने ।
वाईसीएलले स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट राष्ट्रिय भेलाका लागी प्रतिनिधिहरु छनौट प्रक्रिया सम्पन्न गर्ने र त्यसरि छनौट भएका प्रतिनिधिहरु नै राष्ट्रिय भेलाका प्रतिनिधिहरु हुने गरि प्रतिनिधि छनौट प्रक्रियाका लागी संगठनात्मक कार्यविधिसमेत जारी गरेको छ ।
संगठनले प्रतिगामी कदम विरुद्धको सघर्षमा जिम्मेवारीका साथ सडक सघर्षमा होमिएका संगठनका सम्पुर्ण नेता, कार्यकर्ता, युवा तथा जनसमुदायलाई धन्यवाद दिँदै प्रतिगमनकारी कित्तामा पुगेका संगठनका केही मानिसहरुलाई आफ्नै संगठन र वर्गमा फर्कन समेत अपिल गरेको छ ।