काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मानसिक स्थिति बिग्रिँदै गएको आरोप लगाएका छन् । डिप्रेसनमा फस्दै जाँदा नै पूर्वाग्रह र द्वेषको मनोदशा प्रकट गरिरहेको उनले दावी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तै यस्तै मनोदशा प्रकट हुने गर्छ । धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन् । प्रचण्डलाई संभवतस् यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि ।’
त्यस्तै उनले प्रचण्डलाई आफ्नो अनुहार ऐनामा हेर्न र राष्ट्रविरूद्द गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्ने आश्वासन दिएका छन् । केपी ओलीसँग कुनै पक्षमा तुलना नहुने भन्दै लज्जाबोध गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आज धेरै बकबक नगरेर ऐनामा आफ्नो अनुहार हेर्दा र राष्ट्रविरूद्द गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्यो होला कि ? आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबोध गर्नु श्रेयस्कर होला ।’
आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई संविधान मास्ने र गणतन्त्र सिध्याउन सक्ने पात्रको रुपमा चित्रण गरेका थिए । सोही भनाइलाई लक्षित गर्दै सल्लाहकार थापा प्रधानमन्त्री ओलीको रक्षामा उत्रिएका हुन् ।