काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी ओलीले आफूहरुलाई स्पष्टिकरण सोध्न लाज लाग्नुपर्ने बताएका छन् । मंगलबार माधवकुमार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीको विधान र महाधिवेशनको फैसला विपरित निर्णय गर्नेले आफूहरुलाई कारवाही गर्न लाज मान्नुपर्ने बताएका हुन् ।
‘पार्टीको विधान विपरित, नवौँ महाधिवेशनको फैसला विपरित निर्णय गर्नेले हामीलाई तपाईँहरुले अनुशासन मान्नुभएन, तपाईँहरु केन्द्रिय कमिटीमा आउनुभएन भनेर स्पष्टिकरण सोध्नका लागि अलिकति लाज लाग्नुपर्ने हो’, उनले भने ।
नेता रावलले केपी ओलीले गरेका कुनै पनि अवैध निर्णय नमान्ने चुनौती पनि दिएका छन् । उनले फागुन २८ गते बालुवाटारमा ओलीले गरेका अवैध निर्णयहरू कुनै पनि हालतमा नमान्ने समेत स्पष्ट पारेका छन् ।
उनले ओलीले नवौँ महाधिवेशनको विधान मिचेर केन्द्रीय कमिटीमा नयाँ सदस्य भर्ती गरेको भन्दै यो निर्णय अवैध भएको बताएका छन् ।
उनले ‘नवौँ महाधिवेशनको विधानविपरीत अवैध निर्णय गर्ने मान्छेले हामीलाई अनुशासन सिकाउने ?’ भन्दै प्रश्न पनि गरेका छन् ।
नेकपा एमालेको ओली समूहले नेपाल पक्षले पार्टी अनुशासन विपरित क्रियाकलाप गरेको भनेर ‘कारवाही किन नगर्ने ?’ भन्दै सोमबार माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन पत्र पठाएको छ ।