काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङको बैंक खाता रोक्का गरेको छ। तामाङ सञ्चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेर व्यक्तिगत लाभ आर्जन गरेको भन्दै विभागले उनको सबै सम्पत्ति र बैंक खाता रोक्का गरी छानविन अघि बढाएको हो।
तामाङले सहकारीमा बचतकर्ताले जम्मा गरेको १ अर्ब रुपैयाँ भन्दा बढी रकम अपचलन गरी घरजग्गा र बैंकिङ क्षेत्रमा लगानी गरेको समेत भेटिएको छ।
नेकपा एमालेका पूर्वसांसद तामाङ घरजग्गा व्यवसायी र सिभिल बैंक सञ्चालक समितिका अध्यक्षसमेत हुन्। तामाङले सिभिल होम्स नेपाल नामको घरजग्गाको कारोबार गर्ने कम्पनी सञ्चालन गर्दै आएका छन्। उनी सञ्चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्था पछिल्लो दुई वर्षदेखि वित्तीय चुनौती र आर्थिक समस्याबाट गुज्रिरहेको छ।
बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि तामाङले २०७६ जेठमा सार्वजनिक कार्यक्रम गरेर अरु सहकारीलाई सहयोग गर्न आग्रह गरेका थिए। सिभिल समूहको स्वामित्वमा रहेको सिभिल सहकारी संस्थाको ऋण विवादमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा अहिले पनि मुद्दा चलिरहेको छ।
सिभिल समूहको लगानीमा रहेको सहकारीले आफ्नै हाउजिङ कम्पनीलाई ८० प्रतिशतभन्दा बढी ऋण गैरकानुनीरुपमा प्रवाह गरी संस्थालाई धराशायी बनाएपछि बचतकर्ता र सेयर सदस्यहरु अदालत पुगेका हुन्। बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छैनन्। सिभिल सहकारीले राष्ट्रिय सहकारी बैंकबाट लिएको ३० करोड भन्दा बढी ऋण पनि लामो समयदेखि तिरेको छैन।