काठमाडौं । ‘आकाशमा कहिलेकाहीँ कालो बादल देखापर्छ । तर, त्यो कालो बादलको उपस्थिति क्षणिक मात्रै हुन्छ । राजनीतिक आकाशमा देखापरेको अहिलेको कालो बादलको स्थिति पनि छिट्टै हट्छ । बादलले छाडेपछि जब सूर्य चम्किँदै धर्तीमा प्रकट हुन्छ, तब धर्तीभरि उज्यालो छाउँछ । तसर्थ, अहिलेको क्षणिक अप्ठ्यारो र प्रतिकूलता देखेर तपाईं–हामी आत्तिन सक्छौँ तर आत्तिनु हुँदैन । आत्तिएर समस्याको सामना गर्न सकिँदैन । आत्तिने र विचलित हुनेले परिस्थितिमा कुनै परिवर्तन गर्न सक्दैनन् । हामी परिस्थितिमा परिवर्तन गर्ने संकल्पका साथ अगाडिको यात्रामा हिँडिरहेका छौँ,’ पहिलो संविधानसभाको चुनावपछि बनेकोे सरकारबाट तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजीनामा दिएपछिको जटिल अवस्थामा २०६६ जेठमा प्रधानमन्त्री बनेका माधवकुमार नेपालले एक अन्तरवार्तामा भनेका थिए ।
खोलो पनि फर्किन्छ भनेझैं करिब १२ वर्षपछि माधव नेपालको राजनीतिक आकाशमा पुनः कालो बादल मडारिन थालेको छ । ओली र नेपालबीचको आपसी मतभेद पुस ५, फागुन ११, फागुन २३ हुँदैँ, परिस्थितले ‘यु टर्न’ लिँदै आजसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ । नेपालले जुन पार्टीको करिव १५ वर्षसम्म नेतृत्व गरेका थिए, आज त्यही पार्टीको नामबाट उनलाई ‘कारवाही किन नगर्ने’ भन्ने विषयमा स्पष्टिकरण दिन अल्टिमेटम दिइएको छ ।
नेकपाको एकता भंग गर्ने फागुन २३ को सर्वोच्चको फैसलापछि सबैभन्दा अप्ठ्यारो आफूलाई परेको भन्दै उनले न्यायाधीशहरुप्रति गुनासो पनि गरे ।नेकपा एकता भंग भएको केही दिनसम्म मलिन रुपमा प्रस्तुत भएका नेपालको पछिल्लो समयको प्रस्तुतीमा भने एकरुपता छैन । उनी कहिले ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुन्छन् त कहिले ओलीसँगको आधा शताव्दीदेखिको माया पिरती एकै रातमा टुट्दैन भन्छन् । उनको यस्तो बोली र ब्यवहारले उनी कमजोर मनोविज्ञानमा छन् भन्ने बताउँछ ।
बुटवलमा सम्पन्न आँठौ महाधिवेशनमा सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने भनेर नेता नेपाल अन्तिमसम्म तटस्थ बसेका थिए । सहमति हुन नसकेपछि निर्वाचनबाट केपी ओलीलाई हराएर झलनाथ खनाल अध्यक्ष भएका थिए । महाधिवेशनको तीन महिना बित्दा नबित्दै प्रधानमन्त्री आफ्नो पोल्टामा आएका बेला एमाले अध्यक्ष झलनाथ खनाल भए पनि ओलीले नै माधव नेपालका लागि लविङ गरेर महाधिवेशनमा खनालसँग ब्यहोरेको हारको बदला लिएका थिए ।
केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव ल्याउन लाग्दा पनि नेपालले ओलीको साथ नदिएको आरोप पार्टीभित्र लागेको थियो । उनले त्यतीबेला पार्टी भित्र केपी ओली र मनमोहनको नाम मात्र आउने भन्दै आफ्नो योगदानको कदर नभएको भन्ने अभिब्यक्ति पनि दिएका थिए । तर अवस्था जस्तो भएपनि माधव नेपालले केपी ओली सरकारले पहिलेका सरकारहरुले भन्दा राम्रो काम गरेको भनेर सार्वजनिक रुपमा भन्ने गर्थे । यो सबै हेर्दा उनीहरुको माया, पिरती, घृणा, निषेध र तिरस्कार र अपमानसहितको सम्बन्धमा देखिएको आरोह र अवरोह एउटै राजनीतिक पार्टीभित्रका नेतृत्व पंक्तिबीच स्वाभाविक रुपमा देखिने सम्बन्ध भन्दा खासै भिन्न थिएन ।
पछिल्लो समय ओलीले माधव नेपालको १५ वर्षे कार्यकालमा आफूलाई पार्टीका नेता तथा कार्यकर्तासँग छुट्टै भेटघाट गर्नसम्म नदिएर पार्टीभित्र जहिले पनि अपमान गरेको बताउँदै आएका छन् । नेपालले पनि ओलीले आफ्नो विरोध गर्ने सहकर्मीलाई सधैँ अपमान गर्ने गरेको निरन्तर बताउदै आएका छन् । पछिल्लो समयको राजनीतिक घटनाक्रम र उनीहरुले एक अर्कालाई लगाएका लाञ्छाना हेर्दा उनीहरु कुनै पनि हालतमा एक भएर सँगै अघि बढ्न सक्ने अवस्थामा छैनन् । उनीहरुबीच माया पिरती छ कि घृणा, निषेध र तिरस्काररुपी सम्बन्ध छ भन्ने प्रष्ट भएको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भएपछि प्रचण्डसँग साँठगाँठ गरेर केपी ओलीविरुद्ध षड्यन्त्र गरेको आरोप नेपालमाथि लाग्दै आएको थियो । फागुन २३ को फैसलाले नेकपाको एकता भंग गरेपछि केपी ओली र प्रवृत्तिविरुद्ध एमालेभित्र अन्तरसंघर्ष गर्ने उद्घोष गरे नेपालले । एमालेसँग जोडिएको आफ्नो राजनीतिक जीवन बचाउने उद्देश्य उनको थियो/छ । तर परिस्थतीले फेरि अर्के मोड लिएकाे छ । एमाले अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गरेर चाहेका बेला जसलाई पनि कारवाही गर्न सक्ने अधिकार आफूमा केन्द्रित गरेका छन् । यस्तो अवस्थामा पार्टीले कारवाहीका लागि नेपालसँग स्पष्टिकरण मागेको छ ।
नेपाल पक्षमा ३८ सांसद भएपनि नेपालसहित प्रतिनिधिसभाका ४ जनालाई मात्र स्पष्टिकरण माग्ने निर्णय ओलीले गरेका छन् । समानुपातिक सांसदहरुको सूची ओलीले चाहेमा जुनसुकै बेला हेरफेर गर्न सक्ने गरी विधान संशोधन गराएका छन् । यस्तो ब्यवस्थासँगै डरैले भएपनि समानुपातिक सांसदहरुले आफूलाई अध्यक्ष स्वीकार्ने र आफूले भनेको मानेर अगाडि बढ्ने उनको बुझाइ छ ।
ओलीको ब्याक्तित्वबारे टिप्पणी गर्नेहरु उनी निकै प्रतिशोधी रहेको बताउँछन् । उनको बोली र उनले गरेका ब्यवहारमा त्यो देखिन्छ पनि । त्यसैले ओलीले पार्टीभित्र उनले गरेको क्रियाकलाप र निर्णयहरुको चर्को विरोध गर्दै आएका र अहिलेको समयमा उनीसँग कुनै पनि हालतमा झुक्ने सम्भावना नदेखेका नेताहरु, माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई कारवाही गरेर उनीहरुसँग राजनीतिक प्रतिशोध साध्न चाहन्छन् । नेपाल आफैले पनि ओलीले आफ्ना आलोचकहरुलाई एक एक गरेर सिध्याउँछन् भन्दै आइरहेका छन् ।
आफ्नो आलोचना तथा विरोध गर्नेहरुको अस्तित्व स्वीकार गर्न नसक्ने ओलीलाई माधव नेपालको स्पष्टिकरण चित्त बुझ्ने सम्भावना देखिँदैन । त्यसमाथि स्पष्टिकरण सोधिएका नेताहरुले अलग–अलग नभई सामूहिक रुपमा खुलापत्रका रुपमा जवाफ फर्काउने तयारी गरिरहेका छन् । त्यसमा जवाफमात्र नभएर ओलीलाई पनि बग्रेल्ती प्रश्न सोध्ने तयारी उनीहरुको छ । अग्रपंक्तिमा रहेका केही नेताहरुलाई कारवाही गरेपछि तल्लो तहका नेता तथा कार्यकर्ता स्वतः पार्टीमा फर्कने विश्वास ओलीलाई छ । तर माधव नेपाल पक्षले हरेका संगठनमा समानान्तर समिति बनाएर अगाडि बढ्ने छाँटकाँट देखाइरहेको छ । नेपालको यो गतिविधिले पनि एमालेभित्रको उनको राजनीतिक जीवनलाई झन् संकटतर्फ धकेलेको छ ।
विभिन्न राजीतिक उथलपुथलहरुमा संघर्ष गर्दै, नेतृत्व गर्दै आएका नेपालका लागि अहिलेको समय निकै चुनौतीपूर्ण देखिन्छ । यदि उनी कारवाहीमा परेर पार्टीभित्र कुनै प्रकारका जिम्मेवारी नपाउने अवस्था आयो भने अहिले उनलाई साथ दिएका नेता तथा कार्यकर्ताको राजनीतिक भविष्य अन्योलमा पर्ने पक्का छ । त्यसैले उनीहरु माफि मागेर फेरि ओलीको नेतृत्वलाई स्वीकार्नुपर्ने बाध्यतामा पुग्नेछन् ।
नेपालले आत्मालोचना गरेर अगाडि बढ्ने निर्णयमा पुगे भनेपनि पार्टीभित्र ओली पक्षका नेताहरुको तुच्छ बोली र ब्यबहार देखाउने संस्कृतीले उनलाई झन् धेरै पराजित मानसिकतामा पुर्याउने पक्का छ । यतिखेर एमालेबाट अलग हुन उनीसँग पार्टी विभाजनका लागि आवश्यक सङ्ख्या छैन । यस्तो अवस्थामा पार्टीले साँच्चै कारवाही गर्यो भने आफ्ना केही सांसद, नेता तथा कार्यकर्ता लिएर सबैलाई मिलाएर पुनः वाम एकता गर्ने सहमतिसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकता गर्नुको विकल्प उनीसँग रहँदैन ।
प्रचण्डसँग एकता गरेपनि उनले खेप्नुपर्ने आरोप र प्रत्याराेपले उनको राजनीतिक जीवन त्यती सहज नहुने भने निश्चित छ । परिस्थितीलाई परिवर्तन गर्ने संकल्पकासाथ अगाडि बढ्ने दाबी गर्ने माधव नेपालको राजनीतिक आकाशमाथि चौतर्फी रुपमा मडारिएको कालो बादल हटेर सूर्य फेरि कहिले र कसरि उदाउँछ त्यो हेर्न बाँकी छ ।