काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूतका रुपमा सांसद महेश बस्नेतले ज्यान मुद्दामा थुनामा रहेका जसपाका निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् । कारागार सुरक्षा स्रोतका अनुसार बस्नेतले डिल्लीबजारस्थित कारागारमै पुगेर चौधरीलाई भेटेका हुन् ।
संसदीय समीकरणमा अल्पमतमा पर्ने खतरा रहेका बेला ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महताेलगायतका नेतासँग औपचारिक–अनौपचारिक भेट गरिरहेका बेला बस्नेत र चौधरीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहेका बस्नेत ओलीका निकटतममध्ये मानिन्छन् ।
ओलीलाई अप्ठ्यारो परेका बेला बस्नेतले अर्का सांसद किसान श्रेष्ठ, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द खनालसहितको दलबल साथ लिएर जसपा फुटाउने उद्देश्यले सो पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए । अहिले जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव केपी ओलीलाई सत्ताबाट बर्खास्त गर्नुपर्छ भनेर लागिरहेका बेला ओली पक्ष महन्थ ठाकुर पक्षलाई फकाउन लागि परेको छ । बिहीबारमात्रै चौधरीलगायतको रिहाइको माग राख्दै माइतीघर मण्डलमा धर्नारत पक्षलाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल आफैँ पुगेका थिए ।
गृहमन्त्री थापाले प्रदर्शनकारीसँगै सडकमै पलेटी कसेर बसेर उनीहरुलाई सम्बोधन गर्दै भनेका थिए, ‘म प्रधानमन्त्रीका तर्फबाट, सरकारका तर्फबाट यहाँ उपस्थित छु । हामी तपाईहरुका माग सम्बोधन गर्न वार्ता कमिटी बनाउँदैछौ, तपाईहरु पनि धर्ना छाडेर वार्ता कमिटी बनाउनुहोस् । वार्ताबाटै समाधान खोजौँ ।’
जसपा बरिष्ठ नेता राजेन्द्र महत्तोले पनि बिहीबार नै चौधरीलाई भेटेर उनको छिट्टै रिहाइका लागि आफूहरुले प्रधानमन्त्री ओलीसँग सहमति गर्न लागेको बताएका थिए । चौधरीलाई थप आश्वस्त पार्न ओलीले नै बस्नेतलाई पठाएको उनीनिकट नेताको दाबी छ ।
जसपाले चौधरी र मधेस आन्दोलनका अन्य बन्दीको रिहाई तथा मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता कानुन र संविधान संशोधनको माग राख्दै आएको छ । प्रधानमन्त्री ओलीले अधिकांश माग पूरा गर्ने प्रतिबद्धता जनाएको वार्तामा सहभागी एक नेताले बताए ।
प्रधानमन्त्री ओली र जसपाबीच यसै साताभित्र लिखित सहमति गर्ने समझदारी बनेको छ । स्रोतका अनुसार सहमतिसँगै जसपा सम्मानजनक उपस्थितिसहित सरकारमा पनि सहभागी हुनेछ । ओलीले जसपालाई १० मन्त्री र उपसभामुख पद दिने आश्वासनसमेत दिएका छन् ।