काठमाडौं । बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डबलीमा ‘नागरिकका प्रश्न र दलहरूको उत्तर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वर्तमान अवस्थामा नेपाली राजनीतिक वृत्तमा देखिएको संकट र नयाँ ध्रुवीकरणलाई केन्द्रमा राखेर सो कार्यक्रम गरिएको हो ।
कार्यक्रमका संयोजक युग पाठकले वर्तमान अवस्थामा देखिएको राजनीतिक संकटबाट मुलुकलाई निकास दिनका लागि नागरिकहरुले राजनीतिक दलहरुलाई जवाफदेही बनाउने प्रयत्नका साथ कार्यक्रमको आयोजना गरेको बताए । उनले भने, ‘केपी ओलीको कदमलाई अदालतले प्रतिगमनकारी घोषण गरेपछि उनलाई कारवाही गर्नुनुपर्ने संसदले हो । तर संसद बीचमै अड्कीएका कारण मुलुक अगाडि बढ्न नसक्ने अवस्था सिर्जना भएको छ । यो अवस्थाबाट मुलुकलाई निकास दिनका लागि संसद पुनःस्थापनाको पक्षमा उभिएका राजनीतिक दलहरुलाई जवाफदेही बनाउन तथा दबाव दिनका लागि नागरिकका तर्फबाट हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ ।’
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल, नेकपा (एमाले)का तर्फबट वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का तर्फबाट अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुरको उपस्थिती थियो । सो कार्यक्रम प्राध्यापक तथा राजनीतिक विश्लेषक कृष्ण खनाल र स्तम्भकार तथा नागरिक अगुवा दोभान राईले सञ्चालन गरेका थिए ।
कार्यक्रममा नागरिकको प्रतिनिधित्व गर्दे सहजकर्ता दोभान राईले पछिल्लो समय देखिएको राजनीतिक संकट र अन्योलताको सन्दभमा देखिएको समस्याको कारणप्रति लक्षित गर्दै ‘यो अन्योल, यो निरीहपन, यो लोभको गोलमोल हो र? कि अदृष्य शक्तिको चलखेल हो ? कि दलतन्त्रमा आएको विकृतीको उपज हो ? भन्ने प्रश्न गरेर कार्यक्रम सुरु गरिएको थियो ।
पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी केन्द्रले किन अझै सरकारलाई दिएको समर्थन फिर्ता नलिएको हो ? भनेर प्रश्न गरिएको थियो । माधव नेपाललाई संसद पुनस्थपना पछि ‘योजना २’ किन बनेन ?, अब कडा राजनीतिक निर्णय लिनुहुन्छ कि हुँदैन ? भनेर प्रश्न गरिएको थियो ।कांग्रेस नेता रिजाललाई पार्टीले देखाएको अलमलका बारेमा प्रश्न गरिएको थियो । यसैगरि नेता ठाकुरलाई अहिलेको अवस्थामा किन ठोस निर्णय लिएर अगाडि बढ्न नसकेको भन्ने थिममा प्रश्न गरिएको थियो ।
यसका अलावा कार्यक्रममा सहभागि नागरिक अगुवा मोहना अन्सारीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशीता जस्ता उपलब्धिहरु गुम्ने हुन् कि ? भने प्रश्न पनि गरेकी थिइन् । उनले यस्ता कार्यक्रममा महिलाको उपस्थिती किन कम हुन्छ ? भन्ने प्रश्न पनि गरेकी थिइन् । मुलुकले नयाँ गति लिन नसकेर विष्मयमा रहेको अवस्थामा अबको बाटो कसरी अगाडि बढ्छ भन्नेमा कार्यक्रम केन्द्रित थियो । कार्यक्रममा नागरिक अगुवा तथा लेखक खगेन्द्र संग्रौलाले केपी ओलीलाई तानाशाह बनाउन प्रचण्डको भूमीका रहेको बताएका थिए । उनले पछिल्लो समयमा ठाकुर नेतृत्वको जसपाको एक खेमाले ओलीलाई साथ दिन लागेको सन्दर्भप्रति लक्षित गर्दै नेता ठाकुरलाई मधेसको भावनालाई आत्मसात गर्न नसक्ने ओलीसँग गठबन्धन गर्नुपर्ने रहस्य के हो ? भनेर पनि प्रश्न गरेका थिए ।
कसले के उत्तर दिए ?
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताएका हुन् । केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै अबको राजनीति जतासुकै गएपनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने उनले बताए । तर अहिलेको राजनीतिक सङ्कटको निकासका लागि संसद विघटन पछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस र सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस भनेर नै अहिले सम्म दाह्रा किटेर समर्थन कायम राखेको बताए ।
उनले भने, ‘हामीलाई हिजो असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथिहरुले मलाई हत्त र पत्त समर्थन फिर्ता नलिग है भनेर जबरजस्त दबाब छ म माथि । जबरजस्तै छ । मैले नाम चाहिं भन्दिन कसैको हत्त र पत्त समर्थन फिर्ता लिइस भने झन उल्टो पर्छ है भन्ने छ । मैले भनिराखेको छु नैतिक र राजनीतिक ढङ्गले म अव धेरै दिन पर्खिन सक्दिन । मैले जुन सरकारलाई प्रतिगामी भनेको छु त्यसलाई मैले समर्थन गर्न सक्दिन चाहे राजनीति जतासुकै जाओस । मैले मेरो राजनीति र मेरो नैतिकतालाई मैले बचाउनु पर्दछ । म केही दिन भित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु । तर मेरो कोशिस के हो त भने कमसेकम यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं ति राजनीतिक दलहरुको बीचमा अवको निकास बारे एउता न्यूनतम सहमति र समझदारी होस । अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस भन्नको निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एक दुई दिन रोकेको मात्रै हो ।’
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गरे । अदालतको फागून २३ गतेको निर्णयलाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताए ।
उनले भने, ‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाइहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु त्यही पार्टीमा मलाई फेरी सार्वोच्च अदालतले घोक्रयाएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ । ’ तर त्यसबाट आफू नडराउने पनि उनले प्रष्ट पारे । उनले भने, ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर बिडम्बना भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टी भित्रको कुरा फेरी डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरी अर्को आरोप लाग्ला त्यसपछि कुन दिन मलाई घोक्रयाएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधाव नेपाल होइन ।’ उनले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताए । ‘महन्तजीको र मिनेन्द्रजीको दया कृपा रहेसम्म यो सरकार रहिरहन्छ’, उनले भने ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट पार्टीहरुले नै केपी ओलीको सरकारलाई समर्थन गर्ने तर दोष आफूहरुमाथि लाग्ने गरेको बताए । उनले ओली सरकारमा भएका कारण आफूहरुका माग पुरा गराउन ओलीसँग कुरा गरेको पनि प्रष्ट पारे । उनले आफ्नो दलले माओवादी केन्द्रको विरोध नगरेको पनि बताए । उनले भने, ‘अहिले स्वार्थको लडाई भइरहेको छ कम्युनिष्ट पार्टी भित्र । त्यसमा हामीलाई किन उ गर्ने । तपाई अविश्वासको प्रस्ताव भन्नुहुन्छ । आफ्नो पार्टीमा अविश्वासको प्रस्ताव ल्याएर त्यसको समाधान गर्नुहोस न । त्यो भइरहेको छैन ।’ उनले प्रचण्डको र आफूहरुको पीडा फरक रहेको पनि बताए ।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताए । उनले ओली प्रधानमन्त्री भएकै दिन देखि नै आफूहरुले विश्वासको मत नदिएको दाबी गरे । त्यसैले प्रधानमन्त्री ओली विश्वासको मत लिन संसदमा आए कांग्रेसले मत दिन नसक्ने उनको भनाइ थियो । उनले भने, ‘हामीहरुले कुनैपनि हालतमा प्रमुख प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव जहाँसुकैबाट जसरी आएपनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छ । अहिलेका प्रधानमन्त्रीसँग प्रधानमन्त्री भएकै दिनदेखि हाम्रो विश्वास छैन ।’
तर अहिले प्रधानमन्त्री ओली गठबन्धनको सरकार बनाउने भन्दापनि संसदको ठूलो दलको हैसियतमा धारा ७६(३) अनुसारको सरकार बनाएर प्रतिनिधि सभा विघटन गरी चुनावमा जाने मनसायमा रहेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई ७६ को २ मा बसिराख्न मन छैन । प्रधानमन्त्रीलाई ७६ को ३ मा अथवा ५ मा पुग्ने हतार छ । ७६ को ५ को पनि उहाँलाई हतार छैन ७६ को ३ भनेको सबैभन्दा ठूलो राजनीतिक दलको नेताका रुपमा विश्वासको मत प्राप्त नगरेर पनि प्रधानमन्त्री हुने र ७६ को ५ को प्रधानमन्त्री बहुमतको प्रधानमन्त्री हुन नसक्ने अवस्थामा ७६ को ७ को प्रावधानलाई ७६ को ३ को प्रधानमन्त्रीले पनि प्रयोग गर्न सक्ने त्यो चाहनालाई उहाँले गम्भीरतापूर्वक लिनुभएको छ र हेर्नुभएको छ ।
त्यता मुलुकको राजनीति जाओस् भन्ने उहाँको चाहना छ भन्ने हामीलाई लागेको छ । हाम्रो अनुमान गलत हुन सक्छ । तपाईहरुकोबीचमा हामीले के राख्नुपर्छ भने यो एसेस्मेन्टलाई पनि गम्भिरतापूर्वक हेरिदिनुहोस् । र त्यसमा हामीले अघि प्रचण्डजीले इङ्गीत गर्नुभयो कि विश्वास फिर्ता लिदाखेरी ७६ को २ प्रधानमन्त्रीलाई सरकारमा सहभागि दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिन बाध्य हुनुहुन्छ । विश्वासको मत उहाँले पाउनुहुन्न । तर आजको दिनमा प्राविधिक रुपमा राजनीतिक रुपमा केपी शर्मा ओलीसँग संसदको बहुमत पनि छैन केपी शर्मा ओलीको विपक्षमा प्राविधिक रुपमा बहुमत पनि छैन । राजनीतिक रुपमा बहुमत छ प्राविधिक रुपमा बहुमत छैन । त्यसको राजनीतिक फाइदा लिनका लागि उहाँ बस्नुभएको छ त्यसलाई एउटा समयसम्म त्यो फाइदा नप्राप्त गर्नुहोस भन्ने हाम्रो चाहना छ ।’