काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश भन्न तपाइँलाई किन आपत्ति ? भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन्।
मंगलबार रिपोर्टस क्लब नेपालको २३ औँ बार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै यादवले प्रधानमन्त्री ओलीकै अगाडी यस्तो प्रश्न गरेका हुन्।
नेपालको नामको अगाडी संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने र त्यसको ठाउँमा नेपाल मात्र लेख्ने भन्ने मन्त्रिपरिषदको निर्णयमा यादवले आपत्ति जनाए।
‘तपाइँकै मन्त्रिपरिषदले संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने निर्णय गर्दा दुख लाग्यो, ओलीतर्फ हेर्दै यादवले भने, ‘नेपालको संविधानको धारा ४ मा नेपालको परिभाषापछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भनेर लेखिएको छ। यो लेख्दा केको आपत्ति ?
संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता, समानुपातिकतालगायतका उपलब्धिहरु मासिने पो हुन् कि भन्ने चिन्ता उब्जिएको अध्यक्ष यादवको भनाइ थियो।
गत ११ असोजमा मन्त्रिपरिषदको बैठकले आफ्नो मातहतमा जारी गरेको सर्कुलरमा विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरूमा समेत नेपालको औपचारिक नाम नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने गरिएकोमा नेपालको औपचारिक नाम ‘नेपाल’ लेख्ने निर्णय गरेको थियो।