काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल समूहका ११ स्थायी समिति सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्ने दुष्प्रयास गरेको आरोप लगाएका छन्।
स्थायी समिति सदस्यहरुको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन्।
‘प्रधानमन्त्री ओलीद्वारा एकपछि अर्को गर्दै निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको र राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्ने दुष्प्रयास भइरहेको छ।’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्’, विज्ञप्तिमा उल्लेख छ।