काठमाडौं । प्रहरीले एटीएम मेसिन ह्याक गरी पैसा निकाल्ने एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त दरबारमार्ग खटिएको थियो ।
परिसरका अनुसार चिनियाँ नागरिक २९ वर्षी वाङ जियालोङ पक्राउ परेका हुन् । मंगलबार साँझ साढे ५ बजे काठमाडौं–२७ ज्याठा स्थित मेगा बैंकको एटीएम मेसिनको कि बोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वाङ ज्याठास्थित होटल मोन्टेजको ४०५ नम्बरको कोठा बुक गरेर बस्दै आएका थिए । उनको कोठाबाट विभिन्न किसिमका १० वटा चाबीहरुको झुप्पा फेला परेको छ । विभिन्न एटीएम कार्ड र प्राविधिक सामग्रीहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ । ‘पक्राउ परेका चिनियाँ नागरिक पहिलोपल्ट नेपाल आएको देखिन्छ, उनी पर्यटन भिसामा नेपाल आएका हुन् । अहिले एटीएम ‘मास्टर कि’ले खोल्दे गरेको अवस्थामा पक्राउ गरेका हौं, यसअघि यस्तो कार्यमा संलग्न भए नभएकोबारे अनुसन्धान गर्दै छौं’, परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले भने ।
प्रहरीका अनुसार वाङमाथि बैंकिङ कसुर मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको छ । एक वर्षअघि पनि नेपालको एटीएमको सिस्टममा नै ह्याक गरी रकम निकालेका चिनियाँ नागरिकको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन थिए । प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो ।