काठमाडौं। सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने भएको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।