logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बेनी जोमसोम सडकमा सिधा यातायात सञ्चालन

    बेनी जोमसोम सडकमा सिधा यातायात सञ्चालन

    2.8K
    Shares

    बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा एक सातापछि सिधा यातायात सञ्चालन भएको छ । सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउन गत चैत १४ गतेदेखि यातायात बन्द गरिएको थियो ।

    जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट अनुमति लिएर एक सातासम्म विस्फोटक पदार्थ प्रयोग गरी सडक फराकिलो बनाउने काम गरिएको हो । बन्द भएको सडक आजदेखि सञ्चालन भएको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिए। निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले गत पुसदेखि पहाड काट्ने काम गर्दै आएको थियो ।

    उनका अनुसार विस्फोटक पदार्थ प्रयोग गरी सडक चौडा बनाउने काम गरिए पनि पूरै भिरको काम सक्न भने केही महिना लाग्नेछ । एक हजार छ सय मिटर दूरीमा पहाड काट्नुपर्ने भएकाले सडक चौडा बनाउन लामो समय लाग्ने आयोजनाले जनाएको छ । बेनी–जोमसोम सिधा सवारी सञ्चालन भएसँगै एक सातादेखि बेनी हुँदै जोमसोम र जोमसोमबाट बेनी हुँदै आवतजावत गर्ने पर्खाइमा रहेका यात्रुलाई सहज भएको छ । 

    उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किमी लामो बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करिब  छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निमार्ण सुरु भएको हो । 

    एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । करिडोरका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend