काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएकाे छ । आइतबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष ठाकुरकाे निवास हात्तिवनमा पुगेका हुन् । उनीहरुबीच करिब एक घण्टा छलफल भएको बताइएकाे छ ।
छलफलमा पौडेलले ठाकुरसँग कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बन्नुपर्ने र यी तीन दलका बीचमा केही असहमति भए छलफलबाट हल गर्न प्रस्ताव गरेकाे स्राेतले जनाएकाे छ ।
पौडेलको प्रस्तावमा अध्यक्ष ठाकुरले आफू सकारात्मक भएको जवाफ दिएको पनि स्राेतकाे दाबी छ । भेटका क्रममा अध्यक्ष ठाकुरले माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र कांग्रेसकाे आधिकारिक धारणाबारे जिज्ञासा समेत राखेका थिए ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।
ठाकुर भने कांग्रेससँग भन्दा पनि ओलीसँग मिलेर जानका लागि निरन्तर भेटघाटमा छन् । जसपाका अन्य २ अध्यक्ष बाबुराम भट्टराई र उपन्द्र यादव भने कुनै पनि हालतमा ओली सरकारमा जान नहुने भन्ने पक्षमा रहेका छन् ।