काठमाडौं। नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी) लाई माओवादीले कारवाही गरेको जानकारी लुम्बिनी प्रदेश सभालाई गराइएको छ ।
एमालेमा प्रवेश गरेर ओली समूहको केन्द्रीय सदस्य बनेका न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेको पत्र आएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए । प्रदेशसभाको नियमावली १९० अनुसार पत्र आएको र नियमावली १९१ अनुसार सभामुखले प्रदेशसभालाई जानकारी गराउने उनले बताए । ‘सभामुखज्यूले पत्रमा तोक पनि लगाउनु भयो । अब कारवाही गरेपछि वहाँहरुको सांसद पद खारेज हुनेछ,’ उनले भने ।
माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरणको जवाफ दिएका नदिएपछि पार्टीले कारवाहीको लागि पत्र पठाएको हो ।
लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् । माओवादीको २० सांसद छन् । तीमध्ये माओवादीका एकजना सभामुख भएकाले भोटिङ गर्न १९ जनाले मात्रै पाउँछन् । तीमध्ये दुईजना एमालेमा प्रवेश गरिसकेका छन् । प्रदेशसभामा नेपाली काँग्रेसका १९ सांसद छन् ।