काठमाडौं । कोरोना भाइरसका संक्रमित पछिल्लो समय बढ्दै गइरहेको भन्दै सरकारले स्वास्थ्य मापदण्डको प्रभावकारी रूपमा पालना गर्न नसकेमा २०७८ जेठ र असारमा फेरि कोरोना संक्रमण बढ्ने आँकलन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रतिनिधिसभाको सोमबारको बैठकमा भारतमा पछिल्लो समय बढिरहेको कोरोनाको संक्रमणलाई हेर्दा नेपालमा पनि आउने जेठ र असारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्ने आकलन गरिएको बताए ।
‘कोरोना संक्रमितको संख्या माघको पहिलो सातादेखि निकै कम भइरहेकोमा पछिल्लो समय निकै बढ्दै गइरहेको छ । अबका दिनमा जनस्वास्थयका मापदण्ड पालना प्रभावकारी बनाउन सकिएन भने जेठ-असारमा अर्को उच्च बिन्दुमा पुग्ने देखिन्छ,’ मन्त्री त्रिपाठीले भने ।
भारतमा बढिरहेका कोरोना संक्रमितको संख्याले सरकारलाई सचेत बनाएको मन्त्री त्रिपाठीको भनाइ थियो । अब बढ्ने कोरोना संक्रमण नियन्त्रणका लागि कोरोना संक्रमितको पहिचान, आइसोलेसनको व्यवस्था, अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने बताए । यसरी सावधानी अपनाए कोरोना संक्रमणलाई नियन्त्रणमा राख्न सकिने उनको तर्क थियो ।
त्यस्तै, कोरोना भाइरसविरुद्धको भ्याक्सिन खरिदसम्बन्धी अध्यादेश संसद्मा अगाडि नबढेकोमा मन्त्री त्रिपाठीले असन्तुष्टि व्यक्त गरे ।