काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताएका हुन् ।
उनले भने, ‘विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ । कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।’ रासस