logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • कांग्रेसको औपचारिक प्रस्तावसँगै सत्ता समीकरणबारे जसपाले थाल्यो आन्तरिक छलफल

    कांग्रेसको औपचारिक प्रस्तावसँगै सत्ता समीकरणबारे जसपाले थाल्यो आन्तरिक छलफल

    2.3K
    Shares

    काठमाडौं । नयाँ सत्ता समीकरण निर्माणबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले औपचारिक रुपमा प्रस्ताव राखेसँगै जनता समाजवादी पार्टी (जसपा) ले आन्तरिक छलफल सुरु गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा माओवादी केन्द्र र जसपा नेताहरुलाई बोलाएर नयाँ सत्ता समीकरणका सन्दर्भमा ठोस निर्णयसहित आउन प्रस्ताव गरेका थिए । कांग्रेस सभापति देउवाले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएर र जसपालाई विपक्षी गठबन्धन निर्माणका सम्बन्धमा ठोस निर्णय गरेमात्र अगाडि बढ्न सकिने धारणा राखेका थिए ।

    माओवादीले विपक्षी गठबन्धन बन्ने आधार तयार भए पनि नभए पनि आफूहरुले छिट्टै सरकारप्रतिको समर्थन फिर्ता लिने बताएका थिए । जसपा नेताहरुले भने कांग्रेसले पहिलोपटक औपचारिक प्रस्ताव राखेकाले यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।

    कांग्रेसको प्रस्तावमाथि छलफल गर्न कै लागि जसपाका शीर्ष नेताहरुको बैठक पार्टी कार्यालय बालकुमारीमा सुरु भएको छ । छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतोलगायत सहभागी छन् ।

    नयाँ सत्ता समीकरणको लागि कांग्रेसलाई साथ दिने कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिएर जाने भन्ने विषयमा जसपामा दुई धार छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका पूर्वराजपा पक्षका नेताहरु ओलीसँग मिलेर आफ्ना माग सम्बोधन गर्नुपर्ने पक्षमा छन् । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत पूर्वसमाजवादीतर्फका नेता भने ओलीलाई जसरी पनि हटाउने र नयाँ सत्ता समीकरणका लागि विपक्षी गठबन्धन बनाउनुपर्ने पक्षमा छन् ।

    जसपाभित्रको यो दुई धारकै कारण कांग्रेसले अग्रसरता लिन र माओवादीले समर्थन फिर्ता लिन सकेको छैन । दुवै दललाई जसपाले ओलीलाई नै सहयोग गरेर आफ्नो प्रयास विफल बनाइदिने हो कि भन्ने चिन्ता छ । किनकि, विपक्षी गठबन्धन बनाउन जसपाले सग्लो रहेर समर्थन गर्नुपर्ने हुन्छ भने ओलीलाई विश्वासको मत लिन जसपाको आधा संख्यामात्र पनि पर्याप्त छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend