logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • माधव नेपालसँग ‘पुनर्विवाह’ होला त प्रचण्डको ?

    माधव नेपालसँग ‘पुनर्विवाह’ होला त प्रचण्डको ?

    2.1K
    Shares

    हाम्रो बढो लभ परिरहेको थियो । २८ गतेको आमसभामा देख्नुभयो नि, म कसरी बोले, माधवजी कसरी बोल्नुभयो, झलनाथजी कसरी बोल्नुभयो ? लभ नभएका भए त्यसरी बोलिन्थेन नि । बढो लभ परेको श्रीमान्–श्रीमतिलाई अदालतले जबरजस्ती डिभोर्स गर्दिनँ पाइन्छ ? लभ परिराखेकालाई डिभोर्स गर्दिनु त प्राकृतिक रुपले पनि अन्याय भयो । अहिले त दुलाहा–दुलही रुँदैरुँदै फर्किनुपरेको छ ।  

    माथिको भनाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले तत्कालीन नेकपामा रहँदा माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग आफ्नो लभ परेको बताएका हुन् । सर्वोच्च अदालतको फागुन २३ को फैसलाले नेकपा एमाले र माओवादी केन्द्र साबिकका रुपमै ब्युँतिएलगत्तैको एक सभामा पनि प्रचण्डले भनेका थिए, ‘माधव नेपाल र झलनाथ खनालजीहरुले अब एमाले पार्टी कब्जा गर्नुहुन्छ र हामीसँग फेरि एकता गर्नुहुन्छ ।’ शनिबारकै कार्यक्रममा पनि उनले कांग्रेस, एमालेका खनाल–नेपालपक्ष लगायत सँग कार्यगत एकता गरेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई आगामी चुनावमा चौथो स्थानमा धकेलिदिने दाबीसमेत गरे । 

    अर्कोतर्फ एमालेबाट आफू पक्षका चार नेतालाई निलम्बन गरेसँगै नेता नेपालले पार्टीभित्रै समानान्तर गतिविधि सन्चालन गरिरहेका छन् । भातृ संगठन, विभिन्न प्रदेश र जिल्लाहरुका आफ्ना पक्षका नेता, कार्यकर्तालाई समेटेर समानान्तर कमिटी निर्माण गरिरहेका छन् । एमाले अध्यक्ष ओलीसँग मिलेर अघि बढ्ने संभावना समाप्त भएको बुझेका यो समूहका नेताहरुले समानान्तर गतिविधिमार्फत् शक्ति सन्चयको अभ्यास गरिरहेका छन् । भन्नलाई त उनीहरुले ओलीको तानाशाही र अधिनायकवादी प्रवृत्तिको अन्त्य गरी एमालेलाई विधिमा फर्काउन शुद्धिकरण अभियान सन्चालन गरेको बताएका छन्, तर यो फरक पार्टी निर्माणको अभ्यास हो । 

    अर्को चुनाव सुनिश्चित नहुँदासम्म खनाल–नेपाल समूहको यो अभ्यास जारी रहनेछ । कम्तीमा पनि संसदभित्र ओलीको पक्षमा उभिनुपर्ने अवस्था नआउँदासम्म यो अभियानकै रुपमा रहनेछ । निर्णायक अवस्थामा यो समूहले नयाँ पार्टी गठन गर्नेछ । र चुनावसम्म पुग्दा वामपन्थी वा समाजवादी ध्रुविकरणका नाममा विचार र सांगठनिक स्वरुपमा सहमति हुनसक्ने दल वा समूहसँग एकता वा कार्यगत एकता गर्नेछ । किनकि, सर्वोच्चले नेकपा विघटन गरिदिएपछि एउटै केन्द्रमा समाहित ठूलो कम्युनिष्ट शक्ति तीन ध्रुवमा बाँडिएका छन् र यस्तोमा निर्वाचनमा आफ्नो उपस्थिति बलियो बनाउन पनि एकता वा कार्यगत एकतामा जानु उनीहरुको बाध्यता हुनेछ । 

    हो, माओवादी अध्यक्ष प्रचण्ड यही ताकमा छन् । ओलीबाट पाएको जबरजस्त ‘धोका’ र अदालतको फैसलापछि प्रचण्ड अहिलेकै संसदीय दलको गणितअनुसार तेस्रो दलको नेतामात्र हुन् । अघिल्लो चुनावमा पनि एमालेसँगको कार्यगत एकताकै कारण माओवादी केन्द्रले ५३ सिट जितेको नकार्न मिल्दैन । त्यसमाथि अहिले त उनका जनयुद्धकालीन कतिपय सहयात्रीहरुले समेत उनको साथ छाडेकामात्र हैन, अहिले उनका प्रधान राजनीतिक प्रतिद्वन्द्वी ओलीसँग मिलेका छन् । यस्तोमा एमालेसँग चोइटिएर आउने खनाल–नेपाल समूह र हिजो आफैबाट चोइटिएर गएका राजनीतिक गुरु मोहन वैद्य किरण समूहसँग समेत मिल्नु उनको बाध्यता हुनेछ । 

    नेता नेपालले त अबका दिनमा प्रचण्डमात्र होइन, किरण र अन्य सबै वामपन्थी दलसँगको सहकार्यमा बढ्ने रोडम्याप नै अघि सारिसकेका छन् । ‘थ्रेस होल्ड’, कार्यगत एकताका गर्दा फरक–फरक चुनाव चिह्न हुने भएकाले अघिल्लो पटक समानुपातिकतर्फ मत बदर भएको अनुभवका आधारमा पनि एउटै पार्टी भएर चुनावमा जानुपर्ने शीर्ष नेताहरुको मत छ । तर तत्कालै नयाँ पार्टी घोषणा गरेर जाँदा कारवाहीमा पर्ने भएकाले कतिपय सांसद तथा लाभका पदमा रहेका नेता, कार्यकर्ताले साथ नदिने नेपाल समूहको बुझाई छ । त्यसैले अहिले उनीहरु शक्ति संचय गर्नमै केन्द्रित छन् । 

    त्यसमाथि माओवादी वा अन्य दलसँग एकता गर्नुपर्ने अवस्थामा समान हैसियतका लागि पनि आफ्नो शक्ति देखाउनुपर्ने चुनौति उनीहरु सामु छ । त्यसैले केन्द्रदेखि तल्लो तहसम्मै समानान्तर संरचना बनाएर आफ्नो शक्ति देखाउने उनीहरुको रणनीति छ । त्यसपछिमात्रै औपचारिक रुपमा दल दर्ता गर्ने र माओवादीलगायतका वामपन्थी दलसँग एकताको पहल गर्ने उनीहरुको तयारी छ । जिल्ला नेतृत्व र कार्यकर्ता पंक्तिमा नेपाल समूहको पकड पनि कमजोर छैन । एमालेको प्रतिबद्ध कार्यकर्ताको पंक्तिबाट लोभिएरै प्रचण्डले पार्टी एकता गरी नेकपा गठनमा जोड दिएका थिए । केपी ओलीपछि ठूलो जनमतसहितको सिंगो पार्टी आफ्नो कब्जामा आउने उनको आँकलन थियो । 

    अहिले पनि नेपाल समूहसँगको कार्यकर्ता पंक्ति आफूमा समाहित गर्न चाहेका छन् उनले । सत्ता र शक्ति नहुँदा पनि नेपालसँग जोडिने कार्यकर्ता अझ बढी प्रतिबद्ध हुने उनको विश्वास छ । त्यसैले उनले नेता नेपालसँग आफ्नो लभ परेको, लगनगाँठो कस्नै लाग्दा सर्वोच्चले डिभोर्स गराइदिएको दुखेसो गर्दै आएका छन् । त्यसभन्दा एक कदम अघि बढेर उनले नेता नेपालसँग ‘पुनर्विवाह’ गर्ने र ओलीलाई चौथो शक्तिमा सीमित गर्ने हुँकारसमेत गरिसकेका छन् । ओलीलाई सत्ताबाहिर धकेल्न सके नेपाल समूहको प्रभाव झनै बढ्ने भएकाले उनी विपक्षी गठबन्धनका लागि देउवा र जसपालाई मनाउन प्रयत्नरत छन् । बरु यसपटक आफूले थोरै लिएर, कांग्रेस र जसपालाई धेरै दिएर भए पनि ओली हटाउने उनको रणनीति छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend