काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा आज बस्दैछ।
आगामी १४औं महाधिवेशनको तयारीबारे छलफल गर्न आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसअघि २७ गतेलाई तोकिएको बैठक ३ दिन धकेलिएर आज बस्ने भएको हो ।
कांग्रेसले आगामी भदौ ७ गते काठमाडौंमा सुरु हुने १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवरण आजसम्म केन्द्रीय सर्भरमा इन्ट्री गर्ने समयसीमा तोकेको थियो।
कतिपय जिल्लाबाट क्रियाशील सदस्यताको टुंगो नलागेको र कतिपय जिल्लाले टुंगो लागेको सदस्यता विवरण पनि सफ्टवेरमा नराखेको भन्दै छुटेका जिल्लालाई महाधिवेशनमा कसरी समेट्ने भन्ने विषयमा पनि आज छलफल गर्ने तयारी छ।
यसअघि क्रियाशील सदस्यता विवरण इन्ट्री गर्ने समयसीमा चैत १० गतेसम्म तोकिएकोमा २० दिन थप गरिएको थियो।